वायु प्रदूषण : वीरेन्द्रनगरमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह



वीरेन्द्रनगर । करिब एक महिना अगाडिदेखि देशभर वायु प्रदूषण र तुवाँलोले विकराल रुप लिइरहेका बेला वीरेन्द्रनगरको वायु प्रदूषण पनि अत्यधिक बढेको छ ।
वन डढेलोका कारण सुर्खेतमा पनि वायु प्रदुषणको अवस्था विकराल बनेको हो । प्रदूषण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन समेत आग्रह गरेको छ ।
‘वायु प्रदूषणको स्तर बढ्दै गइ मानव स्वास्थ्यमा खतरा पुग्ने स्थिति भएकोले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कनुहुन र केटाकेटी, बुढाबुढी तथा दीर्घरोगीले थप सावधानी अपनाउन अनुरोध गरिन्छ’ प्रशासन कार्यालयका सूचना अधिकारी श्रीसमसेर रानामगरले जारी गरेको सूचनामा भनिएको छ । प्रदूषणको असर विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई देखिने भन्दै प्रशासनले सावधानीका उपाय अपनाउन आग्रह गरेको हो ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार वायुको गुणस्तर सूचांक (एक्यूआई) ५० सम्म स्वस्थ हुन्छ भने ५१ देखि सयसम्म मध्यम मानिन्छ । यस्तै, १०१ देखि १५० सम्म संवेदनशील व्यक्तिहरुका लागि अस्वस्थकर मानिन्छ । १ सय ५१ देखि २ सय सम्म अस्वस्थकर, २ सय १ देखि ३ सय सम्मलाई धेरै अस्वस्थकर र ३०१ देखि ५ सय सम्मलाई घातक मानिन्छ । सुर्खेतको एक्यूआई पनि १५० बढी भएको अनुमान विज्ञहरुले गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार खडेरी सुरु भएदेखि हालसम्म ३९ जंगलमा डढेलो लागेको छ । जिल्लाका ६ वटा स्थानीय तहका विभिन्न ३९ वटा सामुदायिक वनको ३ हजार ३ सय ४५ हेक्टर क्षेत्रफलमा डढेलो भइरहेको प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । उनले अहिले पनि धेरै स्थानमा डढेलो लागिरहेको बताए ।
वनमा लागेको आगो निभाउने क्रममा दुई जनाको मृत्युसमेत भएको प्रहरीले जनाएको छ । डीएसपी घर्तीका अनुसार सिम्ता गाउँपालिका–७ का ९ वर्षिय प्रदीप विक र सिम्ता गाउँपालिका–२ का ४२ वर्षिया नैना खत्रीको मृत्यु भएको हो । खत्रीको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए ।
आगलागीमा परी सिम्ताकै चन्द्रकला सिंह घाईते भएकी छिन् । उनको काठमाडौंमा उपचार चलिरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय मानविय क्रियाकलापकै कारण वन डढेलो बढेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्