किसान केरा र तरकारी खेतीतर्फ आकर्षित



म्याग्दी : ज्यामरुककोटका किसान केरा र तरकारी खेतीतर्फ आकर्षित भएका छन् । अन्य बाली निर्वाहमुखीमात्र भएपछि बेनी नगरपालिका–२ ज्यामरुककोटका किसान केरा र तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । धान, मकै, गहुँलगायतका अन्नबाली उत्पादन हुने जग्गामा बेनी नगरपालिका– २ ज्यामरुककोटको खबरा र बगरफाँटका तीन दर्जन भन्दा बढी किसानले अन्नबाली हुने जमीन केरा र तरकारी उत्पादनमा उपयोग गर्न थालेका छन ।

खबराका किसान चन्द्रबहादुर कार्कीले केरा र तरकारी खेती शुरु गरेपछि वार्षिक रु १२ लाखसम्म आम्दानी गर्न थालेको बताए । अन्नबालीको तुलनामा केरा र तरकारी खेतीबाट तीन गुना बढी फाइदा हुने कार्कीको भनाइ छ । उनले करिब चार रोपनी क्षेत्रफलमा २०० बोट केरा लगाउनुभएको छ भने पाँच रोपनी जग्गामा तरकारीखेती गरेका छन् । बजारमा तरकारी र केराको माग उच्च रहेकाले आफ्नो उत्पादनले राम्रो बजार पाएको उनको भनाइ छ ।

खबराकै अर्का किसान शोभित शर्मा (सापकोटा) ले पनि आठ रोपनी जग्गामा तरकारी र केराखेती गरेका छन् । केरा र तरकारी बेचेर वार्षिक रु आठ लाख भन्दा बढी कमाइ गर्दै आएका शर्माले गत वर्षदेखि विभिन्न प्रजातिका फलफूल समेत लगाएका छन् । आठ वर्षदेखि तरकारी खेती शुरु गरेका सापकोटाले यस वर्ष केराका सय बोट थपेर ७०० बोट केरा लगाउने योजना बनाएका छन् ।

“राम्रो स्याहार संरक्षण गरेपछि एक घरी केराबाट तीन हजारसम्म कमाइ गर्न सकिन्छ”, किसान शर्माले भने । बगरफाँटका खिमबहादुर कार्की, दुर्गाबहादुर थापा, बेदप्रसाद उपाध्यायलगायतका किसानले पनि धान फल्ने खेतमा केरा खेती गरेका छन् । यहाँका किसानले ५० मुरी धान उत्पादन हुने खेतभरि अहिले केरा र तरकारी खेती लगाएर हरियाली बनाएका छन् । केरा बालीभित्र घुसुवा बाली (अदुवा, बेसार) समेत लगाएर यहाँका किसानले दोहोरा आम्दानी गरिरहेका कृषि प्राविधिकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्