सरकार बचाउने वा बदल्ने हाम्रो प्राथमिकता होइन : वृषेशचन्द्र लाल



काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता वृषेशचन्द्र लालले आफ्नो पार्टीको एजेण्डा सरकार परिवर्तन वा सरकारलाई निरन्तरता दिने नरहेको बताएका छन् । उनले आफूहरुको सरोकार सरकार बनाउने वा गिराउने भन्दा पनि मुद्दा सम्बोधन नै मुख्य रहेको स्पष्ट पारे । उनले भने,‘हाम्रो एजेण्डा स्पष्ट छ, हामी सरकार पविर्तन गर्ने वा नयाँ सरकार बनाउने भन्ने होइन, हामीलाई हाम्रो मुद्दा सम्बोधन गर्नुपर्छ ।’
उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, झुठा मुद्दा लागेकाहरुको मुद्दा फिर्ता, बन्दी रिहाई हुनुपर्ने पनि बताए । उनले भने,‘हाम्रो संघर्ष भनेको यो सरकारलाई परिवर्तन गर्नमात्रै होइन ।’
उनले आफूहरुले माग पूरा गराउनको लागि राज्यसँग वार्ता गर्नुपर्ने भएकोले सोहीअनुसार अहिले सरकारसँग वार्ता भइरहेको पनि बताए । उनले आफूहरु कसैलाई पनि समर्थन गर्ने पक्षमा नरहेको भन्दै तटस्थ रहने बताए ।
उनले आफूहरुले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि कुरा गरिराखेको बताए । उनले भने,‘हाम्रो माग राष्ट्रिय मुद्दा हो । ठूला दलहरुले यी माग पूरा गर्ने सवालमा सार्वजनिक रुपमा आफ्नो धारणा राख्नुभएको छैन् । तर, सरकार बनाउनको लागि संख्या पु¥याउने खेलमा हामी यसमा सहमत छैनौं ।’

प्रतिक्रिया दिनुहोस्