प्रदेश २ प्रमुख अहिराज हिमाल पारीको जिल्लामा



काठमाडौं । प्रदेश २ का प्रमुख डा. राजेश अहिराज अहिले हिमाल पारीको जिल्ला मुस्ताङ्गको भ्रमणमा छन् । उनले मधेश र मुस्ताङ्गलाई धार्मिक। सांस्कृतिक र पर्यटकीय रुपले कसरी जोड्न सकिन्छ भन्ने उद्देश्यले मुस्ताङ्गको विभिन्न क्षेत्रको भ्रमण गरेका हुन ।
गण्डकी प्रदेशको उत्तरपट्टी अवस्थित हिमाल पारीको जिल्ला मुस्ताङ्ग हो । धवलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको वीचमा अवस्थित यो जिल्ला हिन्दू र वौद्ध तिर्थयात्रीहरुको पावन भूमि, पवित्र कृष्ण गण्डकी प्रवाहित हुने प्रकृतिको अनुपम दृष्य भएको, पर्यटकको लागि मनमोहक एवम् सुन्दर र रमणीय ठाउँ हो । परापूर्व कालमा नेपाल र तिब्बतबीचको व्यापारिक मुख्य नाका रहेको यो क्षेत्रको सभ्यता पुरातात्विक उत्खननबाट समेत ३००० वर्षभन्दा अगाडिको रहेको पुष्टि भएको छ । तिब्बतीयन संस्कृतिबाट प्रभावित यस क्षेत्रको उत्तरी भेक, पर्यटक र अनुसन्धानकर्ताहरुको लागि अति नै महत्वपूर्ण तथा आर्कषणको केन्द्र रहेको छ ।


यस्तै समथर भूमि भएको क्षेत्र मधेश हो । अग्लो होचो र डाँडाकाँडा नभएको एकदम समथर भूमि नै मधेश हो । मधेशमा जन्मेर हुर्किका प्रदेश प्रमुख झा देशदर्शन अभियानका क्रममा मुस्ताङ्गसहित हिमाली जिल्लाहरुको भ्रमण गरे मधेश र हिमालबीच सौहाद्र सम्बन्ध पनि विस्तार गर्दैछन् ।
दुवै क्षेत्रको हावापानी, भेषभूषा, रहनसहन, संस्कृति, रीतिरिवाज फरक भएको हुँदा त्यसलाई अंगीकार गरी मधेश र मुस्ताङ्गबीचको खाडललाई कम गर्न प्रदेश २ का प्रमुखको मुस्ताङ्ग यात्रा भएको हो ।
साताव्यापी मुस्ताङ्ग भ्रमणलाई उनले देशदर्शन भनेका छन् । यसक्रममा उनले मनाङ जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रको पनि अवलोकन गरेका छन् । उनले भ्रमणकै क्रममा मनाङ जिल्लाको ऐतिहासिक ‘भ्राका गुम्बा’ लगायत पर्यटकीय क्षेत्रको अवलोकन गरे । कला, संस्कृति र पुरातत्वमा नेपाली सभ्यता अनुपम रहेको गुम्बाको अवलोकन पछि उनको प्रतिक्रिया थियो ।


यस्तै उनले अपर मनाङ गाउँपालिका वडा नं.६ का अध्यक्ष सोनामङ गुरुङसँग आन्तरिक पर्यटनको विकास तथा प्रवद्र्धनका विषयमा समेत छलफल गरे । प्रदेश २ प्रमुख अहिराज मनाङ पुग्दा वडा अध्यक्ष गुरुङले स्वागत गरेका थिए । उनले प्रदेश २ बाट मनाङमा धेरै पर्यटक आउने अपेक्षा समेत राखे ।
‘तपाइँका अन्तर्वार्ता पटक–पटक हेरेको, देशभक्तिपूर्ण कुराहरु सुन्दै आएको थिएँ, आज प्रत्यक्ष मनाङमै भेट्न पाउँदा हामी सबै आनन्दित भएका छौँ,’ वडा अध्यक्ष गुरुङले भने ।
प्रदेश प्रमुख अहिराजको मनाङ र मुस्ताङसँगै गोर्खा, लम्जुङ, रसुवा, गोर्खा, नुवाकोट घुम्ने योजना रहेको छ । प्रदेश प्रमुखले आन्तरिक पर्यटनलाई बढाबा दिन मधेश र मुस्ताङ्गबीच सहकार्य हुनु पर्नेमा पनि जोड दिए । ‘मुस्ताङ्गबासीले मधेश चिन्नुपर्छ, मधेशीले मुस्ताङ्ग बुझनु पर्छ,’ उनले भने ।


हिमाल तथा पहाडका जनता मधेश झरे र मधेशका जनता हिमाल तथा पहाड उक्लिए भने यसले सद्भाव बढाउने विश्वास व्यक्त गर्दै उनले यसबाट आन्तरिक संस्कृतिको संरक्षण हुनुका साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्