उद्योग वाणिज्य महासंघको अवधारणा–पत्र सार्वजनिक



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले १० वर्षे अवधारणा–पत्र सार्वजनिक गरेको छ ।
महासंघको ५५औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवस–२०७७ को अवसरमा सार्वजनिक गरिएको अवधारणा–पत्रमा सन् २०३० सम्ममा नेपालको अर्थतन्त्रको आकार सय अर्ब डलर पु¥याइने उल्लेख गरिएको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आर्थिक रुपान्तरण–२०३० पुस्तक (भिजन पेपर)को सार्वजनिक गरेका हुन् ।
महासंघको वर्तमान नेतृत्वले अबको एक दशकभित्र मुलुकको आर्थिक अवस्था कस्तो हुने भन्ने परिकल्पनासहित अवधारणा–पत्र तयार गरेको हो । महासंघको अवधारणा–पत्रमा मुलुकको अर्थतन्त्र दोहोरो अंकमा वृद्धि गर्ने, आगामी १० वर्षभित्र मुलुकको अर्थतन्त्र १०० अर्ब डलरको पु¥याउने र दिगो उच्च आर्थिक वृद्धिमार्फत अतिरिक्त २२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य महासंघले राखेको छ ।
महासंघका अध्यक्ष शेखर गोल्छाले प्रष्ट अवधारणा लिएर अर्थतन्त्रको सुधारका लागि लाग्न आवश्यक रहेकाले त्यसैको सुरूवात महासंघले तयार पारेको राष्ट्रिय आर्थिक रूपान्तरण २०३० रहेको बताए । उनले ती लक्ष्य पूरा गर्ने बलियो आधार र सुझावहरुसमेत अवधारणा–पत्रमा दिइएको बताए ।
अवधारणा–पत्र इमानदारितापूर्वक कार्यान्वयन हुँदा आगामी दशकमा एक सय ५० अर्ब डलरभन्दा बढी लगानी हुने गोल्छाले बताए । जसमध्ये करिब एक सय आठ अर्ब डलर निजी क्षेत्रबाट लगानी हुने उनले बताए । यो भिजन पेपर कार्यान्वयन हुँदा अहिलेको करिब ३४ अर्ब डलरको अर्थतन्त्र १०० अर्ब डलरमा पुग्ने उनले उल्लेख गरे । ‘आगामी दशकमा थप २२ लाखले रोजगारी पाउनेछन् । हाल व्यापार घाटा र अर्थतन्त्रको अनुपात करिब २८ प्रतिशत छ । १० वर्षमा आधा घटाउन सकिन्छ’, उनले भने ।
महासंघले तयार पारेको १०० योजना कार्यान्वयनमा सरकारको सहकार्य आवश्यक रहेको पनि उनले बताए । ४० वटा योजना दुई वर्षभित्रै कार्यान्वयनमा लान सक्ने उनको भनाइ छ ।
उनले निजी क्षेत्रप्रति पहिले नै खराब भावना नराख्न आग्रह गरे । ‘अव्यावहारिक अनुगमनले व्यवसायीलाई समस्या पारेकोप्रति हामी संवेदनशील छौँ । प्रधानमन्त्रीज्यूलाई पनि आग्रह गर्न चाहन्छु, व्यवसायीप्रति पहिले नै खराब भावना राखेर गरिने अनुगमनले कसैलाई फाइदा हुँदैन । यसमा सुधार आवश्यक छ । पहिले त यसको नियमावली नै बन्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्