प्रदेशसभामा सरकारको कडा आलोचना, गल्ती सच्याउने मुख्यमन्त्रीको प्रतिबद्धता



जनकपुरधाम : प्रदेश–२ सरकारको क्रियाकलापविरुद्ध प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरूले कडा आलोचना गरेका छन्। मंगलबार बसेको प्रदेशसभा बैठकमा सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल तथा प्रमुख प्रतिपक्षी दल नेकपा र नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारले गरिरहेको क्रियाकलापको आलोचना गरेका हुन्।

बैठकको विशेष समयमा बोल्दै राजपा सांसद मनिष सुमनले प्रदेशसभाको अवरुद्ध बैठक सुचारु गराउन योजनाको नाममा पैसा बाँडेको भन्दै सरकारको आलोचना गरे।

‘संसदीय बजेट हुँदाहुँदै नगरपालिका जाने बजेटमा पनि सम्बन्धित प्रदेशसभा सदस्यको अग्राधिकार दिनु स्थानीय तहको अधिकार खोस्ने हो’, सुमनले भने,‘विनियोजित भइसकेको बजेटबाट प्रतिपक्षी दललाई खुसी पार्न योजनाको नाममा पैसा बाडने काम गलत हो।’

त्यस्तै प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सरकारले विनियोजित बजेटमा भ्रष्टाचार र अनियमितता गर्ने उद्देश्यले अर्बौ रुपैयाँ रकामान्तर गरेको आरोप लगाउँदै त्यसलाई नियन्त्रण गर्नुपर्ने माग गरे।

नेकपाका प्रदेशसभा सदस्य मन्जु यादवले प्रदेश सरकारले स्थानीय तहमा जाने बजेटमा निर्वाचित सांसदलाई मात्र समेटेकोप्रति आपत्ति जनाउँदै समानुपातिक भनेर हामीलाई हेपिएको आरोप लगाईन। राजपाका सदस्य विन्देश्वप्रसाद साहले प्रदेशको नामाकरण र राजधानी सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न नसक्नु, सप्तरी मलेठ घटनाको प्रतिवेदन सार्वजनिक नगर्नु, प्रदेश सरकारको असफलता रहेको भनी आलोचना गरेका थिए।

राजपाकै अर्का सदस्य डा. रिना यादवले प्रदेशमा बढ्दै गएको महिला हिंसाप्रति प्रदेश सरकार गम्भीर नरहेको आरोप लगाइन्। उनले जनता आवास कार्यक्रम लगायत अन्य योजना र पदमा प्रदेश सरकारले हामीसँग विभेद गर्दै आएको आरोप समेत लगाईन।

सदस्यबाट गरिएको आलोचनाको जवाफ दिँदै मुख्यमन्त्री राउतले बजेटको नीति तथा कार्यक्रम, जनता आवास कार्यक्रम लगायतका कुरामा प्रदेश सरकारबाट गल्ती भएको स्वीकार्दै आगामी दिनमा यी गलती सच्याएर सबै सदस्यलाई समेटेर जाने गरी नीति तथा कार्यक्रम र बजेट तथा योजनाहरु ल्याउने प्रतिवद्धता जनाए। 

प्रतिक्रिया दिनुहोस्