प्रदेशसभामा २ विधेयक पेश, संशोधन समिति गठनको प्रस्ताव



जनकपुरधाम : प्रदेश–२ को प्रदेशसभामा दुईवटा विधेयक पेश गरिएको छ। प्रदेशसभा कार्य संचालन नियमावली २०७५ संशोधन समिति गठनको प्रस्ताव प्रस्तुत गरिएको हो।

मंगलबार बसेको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पेश गरेका थिए। त्यस्तै मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि विचार गरियोस् भनी प्रस्ताव पेश गरे।

प्रदेश सञ्चार सम्बन्धी विधेयक र प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी दुवै विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ। प्रदेशसभा कार्य संचालन नियमावलीको नियम १०६ (१) र नियम १०७ (१) बमोजिम प्रदेश सञ्चार सम्बन्धी विधेयक र प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी विधेयक पेश गरिएको हो।

प्रदेश लोक सेवा आयोगको काम कर्तव्य र अधिकारबारे कांग्रेसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, नेकपाका मन्जु यादव र सुरेन्द्रबहादुर विश्वकर्माले विधेयकमा उल्लेखित ३ सदस्यीय समितिमा महिलाको सहभागिताको अनिवार्यता र पिछडिएका महिला, विपन्न लगायतका सहभागिताको समानुपातिक व्यवस्था सहितका कुरा संशोधन गर्नुपर्ने सुझाव दिए।

त्यसैगरी प्रदेशसभा सदस्य शैलेन्द्रकुमार यादवले प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ संशोधन गर्न ५ सदस्यीय नियमावली संशोधन मस्यौदा समिति गठन प्रस्ताव प्रस्तुत गरेका छन्।

समिति गठनको प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ। सो समितिको सदस्यहरूमा रामआशिष यादव, रामसरोज यादव, सुरेन्द्रबहादुर विश्वकर्मा, बाबुलाल साह कानून र साबित्री देवी रहेका छन्।

प्रस्तुत समिति गठन प्रस्तावमा राजपाबाट परमेश्वर साह, नेकपाबाट सुन्दरबहादुर विश्वकर्मा, कांग्रेसबाट उपेन्द्रप्रसाद कुशवाहा र नेपाल संघीय समाजवादीका सावित्री देवी साहले समर्थन जनाएकी छिन्। प्रदेशसभाको अर्को बैठक जेष्ठ १ गते दिनको २ बजे बस्ने भएको छ। 

प्रतिक्रिया दिनुहोस्