निफमा तीनवटा नेपाली चलचित्रले प्रतिस्पर्धा गर्ने



काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) २०२१ मा यो वर्ष तीनवटा नेपाली चलचित्रले नेपाली फिचर फिल्म विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले महोत्सवका लागि नेपाली चलचित्र लाटो कोसेरो, सरिता (११ वर्ष) र आमा खान्डो फिचर फिल्म प्रतिस्पर्धाको लागि छानिएको जानकारी दिए ।
महोत्सवका लागि विश्वका विभिन्न ५२ देशबाट ४५० चलचित्र प्राप्त भएको पाठकले बताए । आन्तरिक छनोट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने चलचित्रहरु मध्येबाट ३१ देशका ६३ चलचित्र महोत्सवमा प्रस्तिस्पर्धाका लागि पहिले नै छनोट गरिएको थियो ।
नेपाली प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म छनोट गर्न बाँकी राखिएको थियो भने अब निफमा ६६ फिल्म देखाइने छन् । नेपाली फिचर फिल्म प्रतिस्पर्धा अन्तर्गत तीनवटा मध्ये एकले उत्कृष्ट चलचित्रको एक लाख नगद पुरस्कारसहितको ट्रफी, उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्री ट्रफी पाउने छन् ।
‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका चलचित्रलाई अलग्गै विधामा प्रतिस्पर्धा गराइ अवार्ड वितरण गरिने आयोजकले जनाएको छ ।
कोभिड–१९ले पारेको प्रभावमा बनेका यस्ता चलचित्रले ५ सय अमेरिकी डलर प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ । सर्वोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलरसहित माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलरसहित वाग्मती अवार्ड यथावत रुपमा प्रदान गरिने आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महोत्सव २०७८ वैशाख २३ देखि २७ सम्म काठमाडौंमा आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्