प्रदेश २ मा कोरोनाबाट तीनजनाको मृत्यु, थप ५६ संक्रमित



जनकपुरधाम । प्रदेश २ मा करिब साढे तीन महिनापछि कोरोनाबाट तीन जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै यस प्रदेशमा मृत्यु हुनेको संख्या २ सय १२ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद मण्डलले जानकारी दिए ।
गत पुष १२ गते पश्चात यस प्रदेशमा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको थिएन । मंगलबार बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. ९ छाता पिपराका ३७ वर्षीय पुरुष र वीरगंज महानगरपालिका वडा नं. ३ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा नारायणी अस्पताल वीरगंजमा मृत्यु भएको छ ।
त्यस्तै पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार भरतपुर अस्पताल चितवनमा मृत्यु भएको र मंगलबार मात्र जानकारी आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल सप्तरी र नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा पर्सामा ३८, सिरहामा ७, धनुषामा ४, बारामा ४, सप्तरीमा २ र महोत्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ३ पुगेको छ ।
त्यस्तै कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ९३ पुगेको छ । हाल पर्सामा १ सय १४, बारामा ३९, धनुषामा १९, सिरहामा ८, महोत्तरीमा ७, सप्तरीमा ३, सर्लाहीमा २ र रौतहटमा १ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्