सीमामा आवतजावत गर्दा परिचयपत्रको अनिवार्य व्यवस्था गर्नुपर्छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खुला अन्तर्राष्ट्रिय सीमामा कुनै न कुनै तरिकाले निगरानी गर्नुपर्नेमा जोड दिएका छन् । सीमामा आवतजावत गर्दा परिचयपत्रको अनिवार्य व्यवस्था गर्नुपर्ने समेत प्रधानमन्त्री ओलीले बताए ।
‘विमानस्थलमा परिचयपत्र देखाउनुपर्ने, गाडीबाट आउँदा जाँदा नपर्ने ? परिचयपत्र बोकेर किन हिँडन सक्दैन मान्छे ?’ मंगलबार राजधानीको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सम्पन्न छैठौं राष्ट्रिय सुरक्षासम्बन्धी विशिष्ट तालिमको समापन समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले यस्तो प्रश्न गरे ।
हाम्रो सुरक्षालाई ध्यान दिने हो भने देशभित्र कुन देशको मान्छे के भनेर कहिलेदेखि कति समयका लागि आएको छ भन्ने थाहा हुनुपर्ने बताउँदै प्रधानमन्त्रीले भने ‘म्यानमारका रोहिंग्या शरणार्थी कसरी आउँछन् यहाँ ? हाम्रो सीमा भारतसँग पो खुल्ला हो म्यानमारसँग हो र ? विगतमा भुटानसँग थियो र ? यसमा कसैले के भन्छ कि भन्नु नपर्ने भनाई पनि प्रधानमन्त्रीको थियो । ‘भारतसँग पो खुल्ला सीमा हो त । बर्मासँग हो र ? विगतमा भुटानसँग थियो र ?’, प्रधानमन्त्रीले थपे ।
राष्ट्रिय सुरक्षा देशलाई नयाँ खालका सुरक्षा चुनौतिबाट जोगाउन देशभित्र सामाजिक सद्भाव कायम राख्दै बाह्य द्वन्द्वका बाछिटाहरु नभित्रिउन भन्नेमा सतर्क हुनुपर्ने प्रधानमन्त्री ओलीले बताए ।
हाम्रा निम्ति आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा साम्प्रदायिकता भएको बताउँदै प्रधानमन्त्रीले भने, ‘एक पटक समाजमा आगो लागेपछि कसैले फुकि रहनु पर्दैन आफैँ डडेलो लगाउँदै जान्छ । त्यसकारण जहाँ द्वन्द्व फैलियो नभएको मत मतान्तर र द्वन्द्व बढ्नसक्छ ।’
देशमा क्रान्ति र परिवर्तनको नाममा उत्पात मच्चाएको उल्लेख गर्दे प्रधानमन्त्रीले भने, ‘१७ हजार मानिस त मारिए भने कति सग्ला अपांग, कति विधवा र बेसाहारा टुहुरा भए होलान् ? मान्छेहरु गाउँमा बस्न नसकेर शहर आए र काठमाडौं आएपछि पनि लखटने काम भएपछि विदेश जाने लहर सुरु भयो । अहिले हाम्रो युवाहरुको १५ प्रतिशत देश बाहिर छ ।’


द्वन्द्व सकिए पनि अर्को दशक त्यसको असरको अवधि रहेको र ५० वर्षेसम्म त्यसका अवशेष रहिरहने धारणा प्रधानमन्त्रीको थियो । ‘तर त्यसको सबै भन्दा खतरनाक पक्ष भनेको मुलुकमा आन्तरिक फाटो सृजना गर्नु रहेको थियो’, ओलीले भने । कुनै संस्थालाई ध्वस्त पार्न त्यहाँ भित्र आन्तरिक वैमनस्य सृजना गर्नुपर्छ भनिने गरेको तर्फ औंल्याउँदै उनले पार्टीहरु भित्र पनि आन्तरिक द्वन्द्वको स्थित देखिनु राम्रो नभएको समेत बताए । ‘जातीय राज्यका नाममा थुपै सलाईका काँटीहरु झोसिए तर हामीले तत्काल घाँसपात समेत उखेल्ने गरी दमकम प्रयोग ग¥यौ’, उनले भने । अब नेपालबाट हिंसाको राजनीति अन्त्य गरिएको र हिंसामा प्रवेश गरेको देशबाट अन्तिम किस्तामा हिंसात्मक गतिविधि समाप्त पारिएको पनि प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्