महँगो हुँदै तिहार, भाईमसलामा प्रतिकिलो सात सयसम्म बृद्धि



काठमाडौं : नेपालीहरूको दोस्रो ठूलो चाड तिहार  सुरु हुन एक साता भन्दा कम समय बाँकि छ । बजारमा तिहारको रौनक सुरु भइसकेको छ भने भाईटीकाका लागि चाहिने मसला किन्नेको भीड निकै बढेको छ । तर, यो वर्ष भाईमसलामा प्रयोग हुने सामाग्रीको मुल्यमा निकै बृद्धि भएकाले सर्वसाधारण भने मारमा परेका छन् ।

अत्यधिक महँगोमा तिहारको मसला बेचिरहेका व्यापारीहरू आफूले नै महँगो मूल्यमा ल्याएकाले उपभोक्तालाई पनि महँगो पर्न गएको तर्क गर्छन् । 

व्यापारीका अनुसार एउटै मसलामा प्रतिकिलो सात सय रुपैयाँसम्मले बढेको छ । ओखर, खुर्पानी र मखनामा प्रतिकिलो २ सय रुपैयाँले बढेको छ भने सुकुमेल प्रतिकिलो सात सय रुपैयाँसम्म बढेको छ । 

काजु प्रतिकिलो १ हजार ७ सय रुपैयाँसम्ममा बिक्री भईरहेको छ भने किसमिस प्रतिकिलो ६ सय रुपैयाँमा बिक्री भइरहेको छ । 

यस्तै ४ सय ५० रुपैयाँ प्रतिकिलोमा पाईने ओखर अहिले ६ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । किलोको ३ सय ७५ रुपैयाँ पर्ने नरिवलको मूल्य पनि बढेर ५ सय ५० रुपैयाँ पुगेको छ । 

पेस्तामा पनि चार सय रुपैयाँसम्म बढेको छ । बदाम १ हजार ५ सय रुपैयाँ, खुर्पानी  १ हजार ५ सय तथा अन्जिर प्रतिकिलो २ हजार रुपैयाँ रहेको छ । यस्तै अलैँची प्रतिकिलो १ हजार २ सय रुपैयाँमा बिक्री भईरहेको छ भने  ल्वाङ प्रतिकिलो १ हजार ५ सय रुपैयाँसम्ममा बिक्री भईरहेको छ ।   

दालचिनी  प्रतिकिलो १ सय २५ रुपैयाँले बढेर ५ सय रुपैयाँ पुगेको छ भने सुपारी सात सय ५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । 

यी सामाना आयात गर्नुपर्ने र डलरको मूल्यमा भएको वृद्धिका कारण उपभोक्तालाई महँगो परेको व्यवसायीहरू बताउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्