गण्डकी प्रदेशमा जनमोर्चाले लियो समर्थन फिर्ता



काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा (एमाले) नेतृत्वका सरकारहरूलाई समर्थन कायम राख्न नसकिने निष्कर्षमा राजमो पुगेको थियो ।
तर, गण्डकी प्रदेशमा कसैले पनि अविश्वासको प्रस्ताव अघि नबढाएकाले समर्थन कायम राखिएको र अहिले उचित नरहेको निष्कर्षमा पुगेको राजमोका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले जानकारी दिए । ‘हामी गण्डकी प्रदेशमा त्यहाँको सरकारलाई दिएको समर्थनबाट फिर्ता हुने अवस्था सिर्जना भएको छ । अहिले हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौँ ।’
पृथ्वीसुब्बा गुरूङ नेतृत्वको मौजुदा सरकार ढलेर नयाँ सरकार बने आफूहरु त्यसमा सहभागी नहुने उनले बताए । ‘प्रधानमन्त्री एकपछि अर्को प्रतिगामी कदम चाल्दै प्रतिनिधिसभा विघटनको तहसम्म पुगे त्यसलाई समर्थन गर्न नसकिएको हो । गण्डकीमा छुट्टै असन्तुष्टि भएर होइन । नयाँ सरकार बनेछ भने त्यसमा हामी सहभागी हुँदैनौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्