गण्डकीमा अविश्वासको प्रस्तावलाई समर्थन गर्छौ : जनमोर्चा



काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई समर्थन गर्ने जनाएको छ । अध्यक्ष चित्रबहादुर केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) मिलेर बन्ने सरकारलाई साथ दिने बताएका हुन् ।
‘गण्डकी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) अलग भएको स्थितिमा त्यहाँ ओली पक्षको मात्र सरकार हुन्छ । साबिकको स्थितिमा परिवर्तन हुन्छ । गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ । त्यसका क्रियाकलापहरुले पनि प्रतिगमनलाई मद्दत पुग्छ । त्यसकारण गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ । मुख्यमन्त्रीमा माओवादी केन्द्र र ने.का. जुन आए पनि त्यो उनीहरुबीच बन्ने समिकरणको कुरा हो । त्यसमा हाम्रो समर्थन रहनेछ । तर, त्यो सरकारमा हामी भने सहभागी हुने छैनौँ,’ विज्ञप्तिमा भनिएको छ । जनमोर्चाले गण्डकीमा तत्कालीन नेकपाको सरकारलाई समर्थन गरेको थियो ।
अध्यक्ष केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनजस्ता क्रियाकलापहरुबाट २०६२–६३ को जनआन्दोलनका उपलब्धि, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतामाथि गम्भीर खतरा उत्पन्न भएको पनि जनाएका छन् ।
जनमोर्चाले देशमा प्रतिगमनको खतरा बढेको र देशी–विदेशी शक्ति केन्द्रहरुको सक्रियता बढेको ठहर पनि गरेको छ । ओलीले राजीनामा दिनु नै उपयुक्त विकल्प भएको जनमोर्चाको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्