सातै प्रदेशमा बन्ने भए विद्युतीय चार्जिङ स्टेसन



काठमाडौं । सात प्रदेशका विभिन्न ५० स्थानमा विद्युतीय सवारी–साधनको चार्जिङ स्टेसनको आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मत–सम्भारका लागि ठेक्का सम्झौता भएको छ ।
नेपाल विद्युत प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तर्राष्ट्रिय टेन्डरबाट छनोट भएको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सु, चीनबीच ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको हो । एसियाली विकास बैंकको सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिएको छ ।
सञ्चालनमा आएको पाँच वर्षसम्म चार्जिङ स्टेसनको मर्मत–सम्भार ठेकेदार कम्पनीले नै गर्ने व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । उनले हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिने जानकारी दिए ।
चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु राखिनेछन् । यसबाट ठूला बससहित तीनवटा सवारी–साधनले एकसाथ चार्ज गर्न सकिनेछ ।
३०० भन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने प्राधिकरणले जनाएको छ । ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ । सवारी–साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।
चार्जिङ स्टेसन मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा राखिने प्राधिकरणले जनाएको छ । काठमाडौं उपत्यकामा सातवटा चार्जिङ स्टेसन राखिनेछ ।
यी स्थानमा हुनेछन् चार्जिङ स्टेसन
प्रदेश नम्बर–१ मा झापाको दमक, भद्रपुर र कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी पाँचवटा चार्जिङ स्टेसन रहनेछन् ।
प्रदेश नम्बर–२ मा पर्साको वीरगन्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर, धनुषाको ढल्केबर र जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराज गरी सातवटा चार्जिङ स्टेसन स्थापना हुनेछन् ।
वाग्मती प्रदेशमा धादिङको मलेखुमा दुई, सिन्धुलीको बीपी राजमार्गमा दुई, मकवानपुरको हेटौँडामा दुई, चितवनको भरतपुरमा दुई तथा मुग्लिन÷कुरिनटारमा चार र काभ्रेको बनेपामा एक गरी १३ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन् ।
गण्डकी प्रदेशमा नवलपुर, तनहुँ, स्याङ्जामा एक÷एक र कास्कीको पोखरामा तीन गरी ६ वटा चार्जिङ स्टेसन राखिनेछ ।
लुम्बिनी प्रदेशमा आठवटा चार्जिङ स्टेसनहरु रहनेछन् । बाँकेको नेपालगन्जमा एक, दाङको भालुवाङ तथा दाङमा एक÷एक, रुपन्देहीको बुटवलमा एक, नवलपरासीको बर्दघाट÷सुनवलमा दुई गरी ८ वटा चार्जिङ स्टेसन रहनेछन् ।
यस्तै, कर्णाली प्रदेशमा सुर्खेतमा एक र सुदूरपश्चिम प्रदेशमा तीनवटा चार्जिङ स्टेसन रहनेछन् । कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा एक÷एक गरी सुदूरपश्चिममा तीनवटा चार्जिङ स्टेसन रहने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्