केही मान्छे आफू प्रधानमन्त्री हुन पाइन भनेर प्रतिगमन भयो भनेर कराए : प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरुले आफ्नो सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाएको बताएका छन् ।
बुधबार काठमाडौंमा लोकतन्त्रका योद्धालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मान्छेहरुले सत्ता कब्जा गर्नका लागि आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनेर कराउँदै हिँडेको बताए । संविधान, व्यवस्था र जनताको अधिकार, लोकतन्त्रका मूल्य र मान्यता केही पनि नखोसिएको तर केही मान्छेका इच्छा र आकांक्षा पूरा हुन नसकेकाले त्यस्ता मान्छेहरुले प्रतिगमन भयो भनेर हल्ला चलाउने काम गरेको ओलीको भनाइ थियो । अहिलेको व्यवस्था र व्यवस्था सञ्चालन गर्ने संविधान खोसियो भने मात्रै प्रतिगमन हुने पनि उनले बताए ।
‘एकथरी मान्छे आफू प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन भयो भनेर आगनमा निस्केर कराउन थाल्छन् । अहिले त्यस्तै केही स्यालहुइँया चलाउने मान्छेहरु छन् । के हो प्रतिगमन भनेको ? यिनीहरुले परिवर्तन नै बुझेको रहेनछन् कि क्या हो ? परिवर्तन र उपलब्धिहरु हामीले जे प्राप्त गरेका छौं ती प्राप्त गरेका उपलब्धिहरु गुमे भने, हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रणाली स्थापना गरेका छौं त्यो गुम्यो भने, त्यो व्यवस्थालाई संगठित र सञ्चालन गर्ने संविधान खोसियो भने, अहिले कसैले संविधान खोस्या छ र ? संविधान खोसिएको छैन । व्यवस्था खोसिएको छैन, जनताका अधिकार खोसिएको छैन लोकतन्त्रका आधारभूत मूल्य मान्यता केही तलमाथि प¥यो र ? केही पनि परेन,’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले लुटपाट गरेर भए पनि सरकारमा पुग्ने चाहना पूरा नहुँदा प्रतिगमन नहुने बताए । आफूले ध्वस्त पार्न खोज्ने र ध्वस्त पार्न नसकेपछि प्रतिगमनको हल्ला चलाउने काम भएको पनि उनको भनाइ थियो । उनले भने, ‘केही मान्छेहरुको महत्वकांक्षा पूरा हुन पाएन । लुटपाट गरेर लुटेरा तरिकाले सरकारमा पुग्न पर्ने त्यो कुरा रोकियो त्यसो भएपछि प्रतिगमन भयो । आफूले ध्वस्त पार्न खोज्ने ध्वस्त पार्न सकेन भने प्रतिगमन भयो भनेर हल्ला चलाउने । यस्ता शाब्दिक क्रान्तिकारीहरु नामका वामपन्थी, कामका दक्षिणपन्थी आफ्नै बहुमतको सुदृढ बहुमतको झण्डै दुई तिहाईको सरकार आफूहरुले नै उत्पात मच्चाएर ढाल्ने । किनभने सत्ता कब्जा गर्ने, कब्जा गर्नका लागि हिंड्दाहिंड्दै कब्जा किला काँटा सबै फुत्कियो । अनि कब्जा गर्ने । कब्जा हुन सकेन भने प्रतिगमन भयो भन्ने ।’
आफ्नो पार्टी तोडफोड गरेर अर्को पार्टीलाई प्रधानमन्त्री भइदिनुहोस् भन्दै हिंडनेहरुले क्रान्तिका कुरा गर्न नसुहाउने पनि प्रधानमन्त्री ओलीले बताए । सरकारले गरेको परिवर्तन, स्थायित्व, अग्रमन, विकासको लहर सबै कुराहरुलाई जनताले बुझ्ने प्रयास गरिराखेको पनि उनले बताए ।
तत्कालीन समयमा माओवादीले हिंसात्मक आन्दोलन सञ्चालन गर्दा समेत आफूले विरोध गरेको उल्लेख गर्दै हिंसात्मक आन्दोलनले कहीँ पुगिँदैन भन्ने कुरा आफूले अडानका साथ राखेको पनि उनले बताए । हिंसात्मक आन्दोलनबाट नागरिकले दुःख पाउने बाहेक केही हुन नसकेको पनि उनको भनाइ थियो ।


अहिले नागरिकका लागि विकास आवश्यक भएको र विकासको प्रतिफल सबैको पहुँचमा हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । आफ्नो अधिकार, न्याय, जीवनलगायतका कुनै चिज कसैले पनि खोस्दैन भन्ने स्थिति ल्याउन सरकारले ध्यान दिएको उनले बताए ।
सरकारले २०६२÷६३ को जनआन्दोलन, माओवादी सशस्त्र युद्ध र मधेश आन्दोलनमा ज्यान गुमाएका सहिद परिवार, घाइते तथा अपाङ्गता भएका र बहिर्गमित पूर्व लडाकुहरुलाई ‘लोकतन्त्रका योद्धा’को रुपमा सम्मान गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ सय ८१ जना परिवारलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्