सरकार र माओवादीबीच अझै सांठगांठको आशंका : डा. शेखर कोइराला



विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकार र माओवादीबीच अझै पनि सांठगांठ रहेको आशंका गरेका छन् । बुधबार वरगाछी युवा समूहले विराटनगरमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रममा डा. शेखर कोइरालाले सरकार र माओवादीबीच अझै पनि सांठगांठ रहेको आशंका गर्ने स्थिति देखिएको बताएका हुन् ।
सरकार संसदलाई विजनेश दिन नचाहने र सभामुख पनि बहाना देखाएर संसद अघि बढाउन नचाहने प्रबृत्तिले सरकार र माओवादीबीच भित्री सांठगांठ छैन भनेर भन्न सकिने अवस्था नरहेको कोइरालाले बताए। ‘सरकारले विजनेश नदिंदैमा संसदको सबै काम रोकिंदैन’ डा कोइरालाले भने,‘उपभामुखको निर्वाचन प्रकृया अघि बढाउन सभामुखलाई कसले रोकेको छ?’ प्रधानमन्त्री र सभामुखले संसद संचालनमा चासो नै नदेखाएको कोइरालाको आरोप छ । प्रधानमन्त्री र सभामुखकै कारण संसद अनिर्णयको बन्दी बनेको उनले बताए ।
‘सरकार विजनेश नदिने र सभामुखले लाचार बनेर छायाँ सभामुखको भूमिका निर्वाह गर्दा समस्या आएको छ’ डा कोइरालाले भने । सरकार जतिदिन बस्छ त्यति नै दिन अराजकता बढ्ने उनले स्पष्ट पारे । हालको राजनीतिक अवस्थालाई कांग्रेसबाहेक अरु कसैले निकास दिन नसक्ने भएकाले अब, कांग्रेसले सार्थक पहल गर्ने बेला आएको कोइरालाले बताए । ‘कि आफ्नै नेतृत्वमा सरकार बनाउनुप¥यो कि त अरुलाई सरकार बनाउन सहयोग गर्नुप¥यो होइन भने ओलीसँगै मिलेर जाने भन्नुप¥यो’ कोइरालाले भने,‘कांग्रेस अब चुप लागेर बस्नु हुँदैन ।’
उनले नेपाली कांग्रेस भूमिकाविहीन भएर बस्नु देश र लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण भएको बताए । कांग्रेसका नेताहरू अलमलमा परिरहँदा देश राजनीतिक समस्यामा लामो समय अल्झीरहने स्थिति उत्पन्न भएको उनको भनाइ छ । विपीसँग, गणेशमानसँग, गिरीजाबाबुसँग काम गरेका नेताहरू अलमलिइरहनु आश्चर्यजनक भएको उनको टिप्पणी छ । राजनीतिमा सँधै गणितीय खेल मात्रै नहुने भएकाले नेताहरू देशलाई निकास दिने विषयमा अलमलिन नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्