‘तिहारमा लोडसेडिङ हुँदैन, विद्युत प्राधिकरणका २ हजार कर्मचारी स्ट्यान्डबाई’



काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारको अवधिमा विद्युत्‌को बढी माग हुने भए पनि लोडसेडिङ नहुने बताएका छन् । तिहारको समयमा विद्युत्‌को माग १ हजार २ सय ७० मेगावाट पुग्ने प्राधिकरणको अनुमान छ । 

अनुमानभन्दा बढी विद्युत माग भएपनि व्यवस्थापन गर्ने घिसिङले दावी गरे । ‘तर योभन्दा बढी विद्युत् माग भए पनि समस्या छैन,’ घिसिङले भने,‘अघिल्लो वर्षको भन्दा यो तिहारमा धेरै सजिलो अवस्थामा प्राधिकरण छ ।’ 

प्राधिकरणले दिपावलीका बेला कतै विद्युत आपूर्ति बन्द नहोस् भनेर आन्तरिक तयारीसमेत थालेको छ । प्राधिकरणले देशभर रहेका नोलाइट र सबस्टेशनमा झन्डै २ हजार कर्मचारीलाई स्ट्यान्डबाई अवस्थामा राख्नेछ । 

प्राधिकरणले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा घिसिङले कुनै प्राविधिक गडबढी हुँदाबाहेक अन्य अवस्थामा विद्युत् अवरुद्ध नहुने बताए ।

यो वर्ष कुलेखानीमा पानीको सतह १ हजार ५ सय २६ मिटर पुगेको उनले जानकारी दिए । अरु बेलामा सामान्यतया १ हजार ५ सय २४–२५ मिटरमा रहने पानी अहिले झन् बढेको छ ।

कुलेखानीमा पानीको सतह बढेका कारण पनि सुख्खायाममा प्राधिकरणलाई सजिलो हुने उनले जिकिर थियो ।

प्रतिक्रिया दिनुहोस्