भारतसँग बिजुली खरिद गर्न विद्युत प्राधिकरणलाई बाटो खुल्यो



काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गरी आयात गर्न स्वीकृति पाएको छ । भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेन्ज मार्केटबाट विद्युत् खरिद गरी आयात गर्न सक्ने गरी स्वीकृति दिइएको जानकारी प्राधिकरणलाई बुधबार दिएको छ । भारतीय बजारबाट खरिद गरी आयात गर्न स्वीकृति दिएपछि कसैको हस्तक्षेपविना बजारले निर्धारण गरेको प्रतिस्पर्धी दरमा आवश्यकताअनुसार विद्युत् आयात गर्न सकिनेछ ।

‘प्राधिकरण भारतीय पावर एक्सचेन्ज मार्केटको सदस्य बनेकाले नेपालको ऊर्जा विकासका लागि महत्वपूर्ण कोसेढुंगा भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । दुई मुलुकबीचको विद्युत् व्यापारका लागि यसको ऐतिहासिक महत्व रहेको छ,’ शाक्यले भने । उनका अनुसार ऊर्जा एक्सचेन्ज मार्केटमा नेपालले पहुँच पाएकाले भारत हुँदै बंगलादेशसम्मको विद्युत् व्यापारका लागि अर्को बाटोसमेत खुला भएको छ । प्राधिकरणले अहिलेसम्म एनटिपिसी विद्युत् निगम लिमिटेड (एनभिभिएन), पावर ट्रेड कम्पनी (पिटिसी) र बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्य सरकारका वितरण कम्पनीहरूसँग विद्युत् खरिद गर्दै आएको छ । अब भारतीय बजारबाट सोझै आवश्यकताअनुसार विद्युत् खरिद गरी आयात गर्न सकिनेछ ।

पानी नपर्दा विद्युत् व्यवस्थापनमा कठिनाइ
विद्युत्को माग बढेको, तर आन्तरिक उत्पादन घटेका कारण आपूर्तिका लागि भारतबाट थप विद्युत् आयात गर्नुपर्ने अवस्था आएको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले बताए । विगत वर्षहरूमा चैतको अन्तिमबाट खोलामा पानीको बहाव वृद्धि भई विद्युत् उत्पादन बढ्ने गरेको थियो । तर, यो वर्ष पानीको सतह नबढ्दा प्राधिकरणको स्वामित्वमा रहेका १४४ मेगावाटको कालीगण्डकी, ७० मेगावाटको मध्यमस्र्याङ्दी, ७९ मेगावाटको मस्र्याङ्दीलगायतका विद्युत्गृहहरूको उत्पादन बढ्न सकेको छैन । प्राधिकरणको तथ्याङअनुसार चैतमा प्राधिकरणका आरओआर र अर्धजलाशययुक्त विद्युत्गृहबाट औसतमा २ सय मेगावाट, जलाशययुक्त कुलेखानीबाट ६० मेगावाट र निजी क्षेत्रका विद्युत्गृहबाट २ सय मेगावाट विद्युत् उत्पादन भएको छ । त्यस्तै, भारतबाट ७१० मेगावाट आयात भइरहेको छ । प्रणालीमा विद्युत्को उच्चतम माग १ हजार ४६३ मेगावाट र औसत माग १ हजार १५० मेगावाट पुगेको छ । यो माग पूरा गर्न प्राधिकरणका विद्युत्गृहबाट अधिकतम ३४० मेगावाट, कुलेखानीबाट १०३ मेगावाट, निजी क्षेत्रका विद्युत्गृहहरूबाट २ सय मेगावाट र भारतबाट अधिकतम ७८० मेगावाटसम्म आयात गरिएको छ । वैशाखको अन्तिमदेखि ४५६ मेगावाटको माथिल्लो तामाकोसीको एउटा युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन सुरु हुने भएकाले माग र आपूर्तिको व्यवस्थापन गर्न केही सजिलो हुने प्राधिकरणको विश्वास छ ।

कहाँ छ विद्युत् समस्या ?
धनुषाको ढल्केवरपूर्वतर्फ विद्युत् आपूर्तिका लागि समस्या छैन । ढल्केवरपश्चिम बाँकेको कोहलपुरसम्म विद्युत्को माग अधिक छ । तर, प्रसारण तथा वितरण पूर्वाधार पर्याप्त नरहेकाले आपूर्तिमा समस्या छ । ढल्केरबाट रौतहटको चन्द्रनिगाहपुरसम्म हाल रहेको १३२ केभी प्रसारण लाइनमार्फत करिब २ सय मेगावाट मात्रै विद्युत् प्रवाह हुन सक्छ । प्राधिकरणले अहिले सबैभन्दा धेरै ढल्केवर–मुजफ्फपुर प्रसारण लाइनमार्फत विद्युत् आयात गरिरहेको छ । प्राधिकरण र भारतीय कम्पनी एनटिपिसी विद्युत् निगम लिमिटेड (एनभिभिएन) बीच ढल्केवर–मुजफ्फपुर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २ सय ५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २ सय मेगावाटसम्म विद्युत् खरिद–बिक्री (पिपिए) सम्झौता भएको छ । पिपिएको म्याद ३० जुन २०२१ सम्म रहेको छ ।

तामाकोसी र भोटेकोसीको विद्युत् बर्खामा बिक्रीका लागि प्रस्ताव
प्राधिकरणले नेपालमा खपत गरेर बढी भएको विद्युत् बिक्रीको स्वीकृतिका लागि पनि भारतमा प्रस्ताव पठाएको छ । प्राधिकरणले पहिलो चरणमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी र ४५ मेगावाटको भोटेकोसी आयोजनाको विद्युत् वर्षाको समयमा बिक्रीका लागि भारतसमक्ष प्रस्ताव पठाएको कार्यकारी निर्देशक शाक्यले बताए । ‘भारतीय ऊर्जा बजारमा विद्युत् खरिद र बिक्रीका लागि प्रस्ताव गरेका थियौँ, खरिदको स्वीकृति पाएका छौँ भने बिक्रीका लागि माग भएको थप आवश्यक कागजात पठाएका छौँ,’ शाक्यले भने । सुक्खा मौसम र पानी नपरेका कारण खोलामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रको विद्युत् उत्पादन उल्लेख्य मात्रामा घटेकाले विद्युत् माग र आपूर्तिको व्यवस्थापनमा चाप परिरहेको छ । प्राधिकरणले भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गर्न स्वीकृति पाएसँगै तत्काल करिब ३० मेगावाट खरिदको प्रक्रिया अगाडि बढाएको छ । ‘त्यति विद्युत् ल्याउन सक्यौँ भने आपूर्ति व्यवस्थापन गर्न सकिन्छ,’ उनले भने । यस वर्ष पानी नपरेको र प्रदूषणलगायतका कारणले हिउँ पनि नपग्लिएकाले वैशाख सुरु हुँदासमेत खोलामा पानीको बहाव बढ्न सकेको छैन । यसले गर्दा नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरूबाट विद्युत् उत्पादन घटेको छ ।

विद्युत् माग र आपूर्तिमा चाप परेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बुधबार स्युचाटारस्थित भारप्रेषण केन्द्रमा गई प्राधिकरणका कार्यकारी निर्देशक शाक्य, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने, प्रसारण निर्देशनालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठलगायतका अधिकारीहरूसँग छलफल गरे । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका रायमाझीले उपभोक्तालाई लोडसेडिङ नहुने गरी आवश्यक व्यवस्थापन गर्न निर्देशन दिए । नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्