संसदीय टोलीद्वारा द्रुतमार्गको स्थलगत निरीक्षण



निजगढ : संघीय संसदअन्तर्गतको विकास तथा प्रविधि समिति र अर्थ समितिले काठमाडौं तराई मधेश द्रुतमार्गको स्थलगत निरीक्षण गरेको छ । विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खडकाको नेतृत्वमा सांसदहरु अनिलकुमार झा, गणेशकुमार पहाडी, इन्दुकुमारी शर्मा, जिपछिरिङ लामा र केदार सिग्देल निरीक्षणमा सहभागी छन् ।

यस्तै अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालको नेतृत्वमा सांसदहरु सुरेन्द्र पाण्डे, विनोद चौधरी, मेटमणि चौधरी र श्यामकुमार श्रेष्ठ सहभागी छन । नेपाली सेनाका तर्फबाट द्रुतमार्ग निर्माण आयोजना प्रमुख प्राविधिक सहायक रथि विकास पोखरेल र कार्यान्वयन तथा अपरेशन महाशाखा प्रमुख प्राविधिक प्रमुख सेनानी विश्वन्धु पहाडीले द्रुतमार्ग निर्माणमा भएको प्रगतिका बारेमा संसदीय समितिमा रहेका संघीय सदस्यहरुलाई जानकारी गराएका थिए ।

द्रुतमार्गले काठमाडौँसँगको तराई मधेशको दुरी घटाउने र तराई मधेशको विकासमा कोसेढुंगा सावित हुने जनता समाजवादी पार्टीका केन्द्रीय निर्वाचन आयोग प्रमुखसमेत रहेका प्रतिनिधि सभा सदस्य झाले बताए । नेपाली सेनाले गरिरहेको निर्माण कार्य अत्यन्त प्रशंसनीय रहेको बताउँदै उनले काठमाडौं तराई मधेश द्रुतमार्ग निर्माणपछि नेपालले विकासमा नयाँ फडको मार्ने बताए ।

प्रतिक्रिया दिनुहोस्