काँग्रेस अनिर्णित, कर्णालीका मुख्यमन्त्री शाहीको पद धरापमा



सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिनेरनदिनेमा कांग्रेस अझै अनिर्णित बनेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बस्ने भएको छ । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै छन्। विश्वासको मत दिने वा नदिने निर्क्यौल गर्ने अन्तिम समय आइसके पनि काँग्रेस संसदीय दलले निर्णय लिन सकेको छैन।

पार्टी केन्द्रको निर्देशनलाई सांसदहरुले प्रतीक्षा गरेका छन्। पार्टी केन्द्रले दिएको निर्देशनअनुसार आफ्नो भूमिका हुने प्रदेश सांसद हिमबहादुर शाहीले बताए। ‘केन्द्रबाट अहिलेसम्म केही निर्णय आएको छैन। केन्द्रले दिएको निर्देशन के हुन्छ, त्यहीअनुसार हामीले संसद्‍मा भूमिका देखाउँछौं,’ शाहीले भने,‘हाम्रो संसदीय दलको निर्णयले हुँदैन। हामीलाई केन्द्रको निर्देशन चाहिन्छ। मत विभाजन अलि ढिलो होला। त्यो बेलासम्म केन्द्रको निर्देशन आउला।’

संसद् बैठक २ बजेका लागि बोलाइएको छ। चैत ५ मा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिनुपर्ने बाध्यकारी व्यवस्थाले समर्थन खोजेका हुन्। कर्णाली प्रदेशमा कांग्रेसका छ सांसद छन्। संसद्‍मा कायम संख्याका आधारमा बहुमतका लागि २० मत आवश्यक पर्दछ। एमालेसँग २० सांसद रहेको छ भने माओवादी केन्द्रका १२ र राप्रपाका एक सांसद रहेका छन्। एक पद रिक्त रहेको छ।

प्रतिक्रिया दिनुहोस्