सर्वोच्चको न्यायाधीशमा चुडाल र सुवेदीको नाम अनुमोदन



काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।
शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । चुडाल र सुवेदीलाई न्याय परिषद्ले चैत १ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्ताव गरेको थियो ।

सांसदहरुले उठाए ‘सेटिङ’का कुरा
बैठकमा सर्वोच्चमा सिफारिस न्यायाधीश कुमार चुडालको संसदीय सुनुवाइको क्रममा सांसदहरूले सर्वोच्चमा ‘सेटिङ’ हुने गरेको भन्दै प्रश्न उठाउँदै चिन्ता व्यक्त गरे । सांसदहरूले पछिल्लो समय ‘बेन्च सेटिङ’ हुने गरेको कुरा चर्चामा आएकाले त्यसले बिस्तारै लोकतन्त्रमाथि खतरा उत्पन्न हुने भन्दै चिन्ता पनि व्यक्त गरेका हुन् ।
अदालतहरूले न्याय निरुपणमा लामो समय लगाउने र अनावश्यक चलखेलमा सहभागी हुने भन्ने सार्वजनिक गुनासोहरू सांसदले प्रस्तावित न्यायाधीशलाई सुनाएका हुन् ।
सांसद् राजेन्द्र श्रेष्ठले भने, ‘पहिला बेन्च सपिङको कुरा हुन्थ्यो, अहिले बेन्च सेटिङको कुरा बढी हुन थाल्यो । २०७७ माघ ७ पछि यो बढी हुन थाल्यो ।’ प्रतिनिधिसभा विघटनको मुद्दा पछि बेन्च सेटिङको कुरा बढी सुनिन थालेको उनको भनाइ थियो । पैसाबिना न्याय नै पाइँदैन भन्ने आम धारणालाई तोड्दै अदालतले पैसाबिना पनि न्याय पाइन्छ भन्ने विश्वास आर्जन गर्नुपर्ने उनको सुझाव थियो ।
पूर्वप्रधानन्यायाधीशहरू नै प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्छ, प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर हिँड्नुपर्ने अवस्थाको स्मरण सांसद भीमसेनदास प्रधानलले गराएका थिए । उनले भने, ‘न्याय नपाइने हो कि भनेर त्यस्तो भयो । भोलिका सन्ततिले त्यस्तो गर्न नपरोस् । अदालतप्रतिको आस्था बढ्नुपर्नेमा खस्केको छ । यो सबैको चिन्ताको विषय हो ।’
सांसद जीतेन्द्र नारायण देवले संविधानले निष्पक्ष र सक्षम न्यायपालिकाको परिकल्पना गरे पनि त्यो उद्देश्य पूरा हुन नसकेको भन्दै चिन्ता प्रकट गरेका थिए । कार्यपालिकाले न्यायपालिकामाथि अहिले जसरी नै प्रभाव पार्दै जाने हो भने मुलुकको लोकतन्त्र खतरामा पर्ने उनको भनाइ थियो ।


सांसद पूर्णकुमारी सुवेदीले न्यायालयको शक्ति पृथकिकरणको सिद्धान्त, स्वतन्त्रता र सक्षमताका विषयमा प्रश्न उठेको बताइन् । यो के कारणले उठ्यो र सेटिङको विषय किन उठिरहेको छ भन्नेबारे समयमै सोच्नुपर्ने उनको भनाइ थियो ।
सांसदहरूले उठाएका प्रश्नको जवाफमा प्रस्तावित न्यायाधीश कुमार चुडालले सर्वोच्चमा बेन्च सेटिङ भन्ने कुरा असंगत भएको बताए । अदालत अटोमेसनको प्रणालीमा जान लागेकोले सेटिङका शंका निराकरण हुने उनको भनाइ थियो । अदालतमाथि प्रश्न उठ्न नहुनेमा आफू पनि रहेको उनले बताए । ‘जुडिसरीमा प्रश्न उठ्नै हुँदैन । सानो प्रश्न उठे पनि ठूलो हुन्छ । रेफ्री आफैं छ र गोल हान्न लाग्यो भने के हुन्छ ? भन्ने हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्