नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट भोलीदेखि



काठमाडौं । कोरोना भाइरसको महामारीका कारण नेपालले करिब १४ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दैछ ।
नेपालले शनिबारबाट त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्दै छ । तीन देश सञ्चालित प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शनिबार नेदरल्यान्ड्सँग खेल्दैछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १ः१५ बजेबाट सुरु हुनेछ ।
प्रतियोगितामा नेपालसहित मलेसिया र नेदरल्यान्ड्सको सहभागिता रहेको छ । लामो समयपछि प्रतियोगितामा सहभागिता जनाउन लागेको नेपाललाई घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने चुनौती छ । जसका लागि आफूहरु तयार भएको राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बताए ।
‘घरेलु मैदानमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्श गर्नु हाम्रो मुख्य लक्ष्य हो । घरेलु प्रतियोगितामा सहभागिता जनाएका खेलाडीका लागि अन्तराष्ट्रिय प्रतियोगिताले केही निखारता ल्याउने छ । त्यसै कारण यो प्रतियोगिता सबैका लागि महत्वपूर्ण छ,’ कप्तान मल्लले भने ।
नेपालले लामो समयदेखि भोग्दै आएको ब्याटिङको समस्या यो प्रतियोगितामा देख्नुनपर्ने कप्तान मल्ल बताउँछन् । उनले सकेसम्म ब्याटिङ लाइनलाई बलियो बनाउने आफूहरूको मुख्य योजना भएको बताए । ‘ब्याटिङमा नेपाली टोलीको पहिले देखि समस्या देखि रहेको छ । यसमा हामी धेरै पटक चुकेका छौं । अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाउँदा हामीलाई केही असहज भने हुन्छ नै । पछिल्लो समय घरेलु प्रतियोगितामा खेलाडीले ब्याटिङमा देखाएको निखारताले पक्कै राम्रो म्यासेज जान्छ,’ मल्लले भने ।
नेदरल्यान्ड र नेपालको हालसम्मको नतिजा हेर्ने हो भने नेपालले नेदरल्यान्डसँग ८ खेल खेलेको छ । जसमा नेपालले दुई खेलमा मात्र जित हात पार्न सकेको छ । यता मलेसिया पनि पछिल्लो समय बलियो टोलीको रुपमा प्रस्तुत छ ।
मल्लले ग्लोबल छनोटका लागि अहिले देखिनै टिमको रणनीति बनाइरहेको बताए । अहिलेबाट गरेको तयारीले टिमलाई सबै प्रदर्शनले सहज बनाउने उनी बताउँछन् । अबको लक्ष्य सन् २०२२ को टी–ट्वान्टी विश्वकप भएकाले त्यसैकै लागि आफूहरूले तयारी गरि रहेको उनले बताए ।
यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर पारस खड्काले शनिबार हुने नेदरल्यान्ड्सविरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल गुमाउने भएका छन् । सोल्जरमा लागेको चोटका कारण उनले खेल गुमाउने भएका हुन् । पारसले शनिबारकको खेल नखेल्ने निश्चित भएपनि बाँकी खेलको पनि टुंगो छैन । उनको स्थान नयाँ खेलाडीले लिने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्