कर्णालीमा एमालेका ४ सांसदले गरे ‘फ्लोर क्रस’



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनको पार्टी नेकपा (माओवादी केन्द्र) का १२, नेपाली कांग्रेसका ६ र एमालेका ४ सहित २२ जना सांसद मत पाएपछि उनको पद जोगिएको छ । विश्वासको मतको लागि २० सांसद आवश्यक थियो ।
प्रदेशसभामा रहेका एमालेका १९ (सभामुखबाहेक) सांसदमध्ये प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले संसदीय दलको ह्वीप उल्लंघन गरेका छन् । उनीहरु माधव नेपाल पक्षीय सांसद हुन् । मत विभाजनको आधारमा गरिएको मतदानमा ५ जना विश्वासको मतको पक्षमा उभिएका थिए । राप्रपाकी एक्ली सांसद सोशिला शाहीले भने तटस्थ बसेकी थिइन् ।
योसँगै मुख्यमन्त्री शाहीको सरकार तत्कालको लागि जोगिएको छ । केही महिनापछि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने गरी सहमति भएको छ । ह्वीप उल्लंघन गर्ने सांसदहरु दलबाट कारबाहीमा परे पनि केही समय मन्त्री हुने जनाइएको छ ।
एमालेले एक महिनाअघि मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत मागेका थिए । माधव नेपाल समूहका सांसदहरुले संसदीय दलको ह्वीप उल्लंघन गर्ने आकलन गरिएको थियो । शुक्रबार बिहान संसदीय दलका नेता यामलाल कँडेलको घरमा बसेको दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्