सर्वदलीय सरकार बनाऊँ : काँग्रेस नेता शेखर कोइराला



राजविराज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अहिलेको सरकार हटाएर सर्वदलीय सरकार बनाउनुपर्ने बताएका छन् ।
सप्तरी सदरमुकाम राजविराजमा शुक्रबार आँखा अस्पतालको उद्घाटन गर्दै कोइरालाले यो सरकार रहँदासम्म अराजकता बढ्ने भन्दै सर्वदलीय सरकार बनाउनुपर्ने बताएका हुन् । ‘यो सरकार जति अगाडि बढ्छ त्यत्ति अराजक बढ्छ’ उनले भने, ‘त्यहीं भएर यो सरकारलाई हटाएर सर्वदलीय सरकार बनाउनु जरुरी छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुर्सीबाट नहटाएसम्म चैनको सास लिन नसकिने कोइरालाले बताए । देश अत्यन्तै जटिल मोडबाट गुज्रिरहेको बताउँदै उनले संसदीय व्यवस्थामा विश्वास नभएका पार्टीले संसदलाई निकम्मा पार्ने खेल खेलिरहेको बताए ।
‘संसद अनिर्णयको बन्दी बनेको छ । सरकारले बिजनेस दिन सकिरहेको छैन । सरकारले बिजनेस नदिए सभामुखले कुनै न कुनै विजनेस दिनुपथ्र्याे ’ उनले भने, ‘किन ल्याइरहनु भएको छैन, त्यो सभामुख र उनको पार्टी माओवादी केन्द्रले जान्ने कुरा हो ।’
संसद अनिर्णयको बन्दी बनिसकेपछि निकास भनेकै सहमतिको सरकार बनाएर निर्वाचनमा जानुपर्ने उनले बताए । ‘तर कांग्रेस आफैं अलमलमा छ । जनता समाजवादी पार्टी दुई खेमामा परिणत भएको छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्