कामिरिताको नयाँ कीर्तिमानी : २३औँ पटक सगरमाथा आरोहण



सोलुखुम्बु : साहसिक आरोही कामिरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेकेका थिए । आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिए ।

लामो समयदेखि आरोहण क्षेत्रमा रहनुभएका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका हुन् । कामीरिता शेर्पा र ओङ्दी शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत आरोहण गरेका हुन् ।

कम्पनीका टासी लाक्पा शेर्पाले यो राष्ट्रकै गौरवको कुरा भएको बताए । सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहणअघि सञ्चारकर्मीसँग कुरा गर्दै २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताएका थिए ।

बौद्ध धर्मअनुसार एक महीनाअघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताए । यसअघि २१ पटक सगरमाथा चढिसक्नुभएका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसकेका छन्  । 

प्रतिक्रिया दिनुहोस्