लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : प्रकाशमान सिंह



स्याङ्जा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो रहेको बताएका छन् । नेपाली कांग्रेसले शनिबार स्याङ्जाको वालिङमा आयोजना गरेको नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले लोकतन्त्रको रक्षाका लागि अब कांग्रेसले नेतृत्व लिएर अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन ।
नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि पनि नेपाली कांग्रेसले अबको नेतृत्व लिनुपर्ने समय आएको नेता सिंहको धारणा थियो । ‘कम्युनिस्टलाई पाँच वर्षसम्म स्थिर सरकार चलाउनका लागि जनताले निर्वाचित गरेका हुन्’, नेता सिंहले भने ‘जुन अपेक्षासहित जनताले मत दिए तर त्यो मतको सही सदुपयोग गर्न कम्युनिस्टले सकेनन् ।’
अब नेपाली कांग्रेसलाई समयको माग अनुसारको पार्टीका रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै आगामी १४औँ महाधिवेशनबाट सशक्त नेतृत्व आउने उनको दावी थियो । ‘कुरामा मात्रै होइन अब काममा विश्वास गरौँ’, नेता सिंहले भने, ‘अबको महाधिवेशनबाट काम गर्न सक्ने र पार्टीलाई सङ्गठित गर्न सक्ने खालको नेतृत्व चयनमा जोड दिऔँ, पार्टीलाई संस्थागत गर्दै लगौँ ।’
यसैबीच, नेता सिंहले आफ्ना पिता गणेशमान सिंहको नाममा वालिङ–११ बिसौनीमा स्थापना भएको गणेशमान स्मृति आधारभूत विद्यालयको अवलोकन गरे । सो अवसरमा उनले गणेशमान फाउन्डेशनमार्फत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै विद्यालयको भौतिक, शैक्षिक तथा पूर्वाधार निर्माणका लागि आफूले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।

प्रतिक्रिया दिनुहोस्