टिपर दुर्घटनाको त्रास



रुपन्देही : एक हप्ताअघि बुटवलको पाखापानीमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भयो । परीक्षा दिएर आफ्ना बुबासँग घर फर्कंदै गरेकी पुष्पा भण्डारी सवार स्कुटरलाई टिपरले ठक्कर दिँदा घटनास्थलमै ज्यान गयो । आँखा अगाडि नै छोरीको मृत्यु देखेका बाबु घनश्यामसहित परिवारका सदस्य अहिले विक्षिप्त अवस्थामा रहेका छन् ।

गत चैत १९ गते बुटवल धागो काराखाना नजीकै टिपरको ठक्करबाटै बुटवलका प्राध्यापक डोलराज अर्यालको मृत्यु भयो । अर्यालको निधनपछि उहाँको परिवार अझै शोकमा छ । चार दिनअघि कपिलवस्तुको दोहनीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भयो ।

टिपरको ठक्करबाट हुने सवारी दुर्घटना बढेपछि अहिले आम नागरिकको टिपर र चालकलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको छ । ‘टिपरको आवाज सुन्ने वित्तिकै तर्सिनु पर्ने अवस्था सृजना भएको छ, जसका कारण टिपर चालकप्रति आमनागरिकमा नकारात्मक छाप बसेको छ’, प्राध्यापक बाबुराम पाण्डेले भने । टिपर दुर्घटनाका कारण विद्यालयका विद्यार्थीमा डर र त्रासको वातावरण पैदा भएको उनको भनाइ छ ।

ओभरलोड र तिव्र गतिका कारण प्रायः टिपरले ठक्कर दिएपछि यात्रु बाँच्ने सम्भावना कम हुन्छ । ‘टिपर आएको देख्नेबित्तिकै यमराज आयो भन्छन्, टिपरलाई देख्नेबित्तिकै ठक्कर दिन्छ कि भन्ने मनोवैज्ञानीक प्रभाव परेको छ, यसप्रति टिपर व्यवसायी संवेदनशील बन्नुपर्छ’, पत्रकार सिपी खनालले भने ।

आजभोलि हरेक दिन हुने दुर्घटनाका कारण एक÷दुई जनाको ज्यान जाने कुरा सामान्य झैं लाग्न थालेको छ । ‘आफन्तमा पर्दा मात्रै दुर्घटनाको पीडा थाहा हुन्छ’, सँगै परीक्षा दिएर फर्कदै गर्दा टिपरको ठक्करबाट साथी गुमाएकी बुटवलकी अस्मिता भारतीले भनिन् । टिपर दुर्घटनाले रुपन्देहीमा त्रासको वातावरण सृजना भएको छ । ‘बाटोमा हिँड्दै गर्दा टिपर आयो भने भागेर घरभित्रै छिर्नुपर्ने अवस्था छ’, नीलहीरा समाजकी अध्यक्ष आनिक रानाले भनिन् ।

टिपर व्यवसायी तोया लम्सालका अनुसार रुपन्देहीमा करीब एक हजार टिपर सञ्चालनमा छन् । जसमध्ये ६५० टिपरले चुनढुङ्गा ढुवानी गर्छन् भने बाँकी टिपरले क्रसरलगायत सामग्री ढुवानी गर्छन् तर ट्राफिक प्रहरीले भने चुनढुङ्गा बोक्ने टिपरलाई मात्रै टाइम कार्ड लागू गरेकाले समस्या भएको व्यवसायी लम्सालको तर्क छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार यो आर्थिक वर्षको आठ महीनामा प्रदेश नं ५ मा ३८ टिपर दुर्घटना भएका छन्  । सबैभन्दा बढी गत चैत महीनामा आठ दुर्घटना भएका छन् । अधिकांश दुर्घटना चालकको लापरवाहीका कारण भएका प्रहरी निरीक्षक गङ्गाबहादुर सारुको भनाइ छ । ‘टिपर दुर्घटना बढेपछि प्रदेशका मुख्य शहरमा टाइम कार्ड शुरु गर्यौ, जसले टिपरको गति नियन्त्रण भएको छ,’ उनले भने ।

दुर्घटनापछि आफन्तजनहरुले टिपर जलाउने चालकलाइ कुटपिट गने क्रमसमेत बढेको छ । ‘दुर्घटनापछि आफन्त गुमाएको चोटमा व्यक्तिले जस्तोसुकै कार्य गर्न सक्छन्, यसले थप जोखिम निम्त्याउँछ, यसका लागि समयमै समस्या समाधानको बाटो अवलम्बन गर्नुपर्छ,’ मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष डिपी खनालले भने । 

पछिल्लो समय टिपरका कारण दिनहुँ दुर्घटना बढेपछि प्रदेश सरकारले सडकको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ । दुर्घटना कम गर्न मुख्य बजार क्षेत्रमा वैकल्पिक सडकको व्यवस्था गर्ने योजना बनाइएको भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले बताए ।

उनले भने, ‘सडक सुरक्षाको विषयलाई लिएर सरकार गम्भीर छ, चालू आर्थिक वर्षमा झुम्सा, चरङगे धागो कारखाना सडकमा रु १० करोड बजेट विनियोजन गरी सडकलाई व्यवस्थित गरिएको छ, आगामी वर्ष पनि केही बजेट छुट्याएर सोही सडकबाट टिपर सञ्चालनका लागि रुट निर्धारण गरिनेछ ।’ 

प्रतिक्रिया दिनुहोस्