निर्णायक जसपालाई तान्न लुम्बिनी प्रदेशमा रस्साकस्सी



बुटवल : कर्णाली प्रदेशको राजनीतिक रस्साकस्सीपछि अहिले लुम्बिनी प्रदेशतर्फ राजनीतिक ध्यान केन्द्रित भएको छ । नेकपा एमालेका शंकर पोखरेलको नेतृत्वमा रहेको सरकार परिवर्तनबारे पार्टीको धारणा तय गर्न र त्यसमा सबै सांसदलाई एकमत बनाउन जनता समाजवादी पार्टी (जसपा) को लुम्बिनी प्रदेश संसदीय दलको बैठक बस्दै छ।

संघीय संसदको अंकगणितमा जस्तै लुम्बिनीमा पनि निर्णायक रहेको जसपाले प्रदेशमा बन्न लागेको नयाँ सत्ता समीकरणमा पार्टीभित्र एक मत बनाउन बैठक बोलाएको हो। विकसित राजनीतिक घटनाक्रमबारे एकमत बनाउन पार्टीका सांसदहरुसँग छलफल गर्न लागिएको जसपा लुम्बिनी प्रदेश संसदीय दलका नेता सहषराम यादवले बताए। नेपाली कांग्रेस र माओवादी केन्द्रले लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरे पनि जसपा एक ढिक्का नहुँदा अघि बढ्न सकेको छैन। पार्टीभित्र मतभेद भए पनि दलको बैठकले त्यसलाई हल गर्ने यादवले बताए।

लुम्बिनीमा जसपाका ६ सांसद रहेका छन्। जसमा तीन सांसद अविश्वासको प्रस्तावको पक्षमा छैनन्। सहषराम यादव, सुमन शर्मा रायमाझी र पुरमती ढेंगा मगर अविश्वासको प्रस्ताव ल्याउनुपर्ने पक्षमा छन्।तर, सन्तोष पाण्डे, कल्पना पाण्डे र विजय यादवले प्रस्तावमा हस्ताक्षर गर्न मानेका छैनन्। पार्टीभित्र फरक मत देखिएपछि जसपाले सोमबार लुम्बिनी प्रदेशका आफ्ना नेतालाई बैठकमा बोलाएको छ। लुम्बिनीका जसपा नेताहरुसँग छलफल गर्न दाङको भालुवाङमा बोलाइएको बैठकमा पार्टीका पूर्वमन्त्री इस्तियाक राई पनि सहभागी हुँदैछन्।

लुम्बिनीबाट जसपाका केन्द्रीय सदस्य पंकज राईले सोमबारको भालुवाङ बैठकले लुम्बिनीमा पार्टीको एक मत बनाउन आफूहरु सफल हुने विश्वास व्यक्त गरे। ‘केही कन्फ्यूजनहरु हुनसक्छन्, भोलीको बैठकबाट ती हल गर्ने प्रयासमा छौं,’ राईले भने, ‘प्रतिगमनलाई समर्थन गर्ने भन्ने कुरै आउँदैन।’ कुल ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा अहिले ८५ सदस्य छन्। दुई जना सांसद नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेपछि पदमुक्त भएका थिए। एमालेका ४१ जना, नेपाली कांग्रेसका १९ , माओवादी केन्द्रका १७, जसपाका छ जना र राष्ट्रिय जनमोर्चाका एक जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस्