दाङमा गत वर्षभन्दा बढी तोरी उत्पादन



दाङ : गत वर्षका तुलनामा दाङमा यस वर्ष तोरीको उत्पादन बढेको छ । जिल्लामा यसवर्ष ५४.८६ प्रतिशत बढी तोरी उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार सरकारले तेलहन बालीलाई प्रवर्धन गर्न थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण हुँदा उत्पादन समेत बढेको हो ।

गत वर्ष २० हजार १७८ मेट्रिक टन तोरी उत्पादन भएको थियो भने यस वर्ष १८ हजार ६०० हेक्टर जमीनमा लगाइएको तोरी ३१ हजार २४८ मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ । गत वर्षभन्दा यस वर्ष ११ हजार ७० मेट्रिक टन बढी तोरी उत्पादन भएको केन्द्रका सूचना प्रसार अधिकृत उमेशचन्द्र श्रेष्ठले जानकारी दिए । औसत प्रतिहेक्टर १० क्विन्टलसम्म उत्पादन हुने गर्दछ । “गत वर्ष प्रतिहेक्टर १० क्विन्टलका दरले उत्पादन भएकामा यस वर्ष बढेर प्रतिहेक्टर १६ क्विन्टलका दरले तोरी उत्पादन भएको छ” उनले भने ।

गत वर्ष तोरी खेती भएको हिँउदे मौसममा अधिक वर्षा हुँदा अन्य बालीका उत्पादनमा कमी आएको थियो । यस वर्ष मौसममा अनुकूल तथा रासायनिक मलको पर्याप्तता मुख्य कारण भएको उहाँले जानकारी दिए । यस वर्ष स्थानीय तहले उन्नत जातको बीउबिजन वितरण गरिनु र समयमा पानी परेका कारण उत्पादनमा वृद्धि भएको रहेकाले गत वर्ष तोरी उत्पादन राम्रो भएको छ । तोरी उत्पादन राम्रो भएपछि यहाँका किसान खुशी भएका छन् ।

गढवा गाउँपालिका–७ का विकास चौधरीले यस वर्ष १० क्विन्टल तोरी बिक्री गरिएको बताए । प्रतिक्विन्टल रु ११ हजार ५०० का दरले बिक्री गरेका उनले रु एक लाख १५ हजार आम्दानी गरेको जानकारी दिए । “तोरी राम्रो उत्पादन भयो”, उनले भने, “घरमा आवश्यक पर्ने राखेर बाँकी बिक्री गरेँ, यस वर्ष तोरीले राम्रो आम्दानी दिएको छ ।” उनीजस्तै सोही गाउँका अन्य किसान पनि तोरीको बजार मूल्य राम्रो पाएपछि औधी खुशी भएका छन् । तोरी बेच्नलाई कुनै समस्या नै भएन ग्राहक घरमै आएर खरीद गरेर लग्ने गरेकाले सजिलो भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्