आयआर्जनका लागि बाख्रामा लगानी



टीकापुर : टीकापुरको बेलुवाकी रुपमती विकले पाँच वर्षअघि सत्तीको कर्णाली सामुदायिक वनबाट बाख्रापालनका लागि १० हजार रकम सहयोग पाएकी थिइन । उनले पाँच हजारका दुई बाख्रा किनिन । आठ महिना पालेपछि एउटा बाख्राले दुई पाठा र अर्कोले एक पाठो जन्मायो । एक वर्षपछि एउटा बाख्रा बेचेर १० हजार सामुदायिक वनलाई फिर्ता गरि दिइन ।

‘हाल मसँग १४ बाख्रा छन्, समस्या परेको बेला बेचेर खर्च चलेको छ, सामुदायिक वनले मलाई ठूलो सहयोग ग-यो’, रुपमतीले भनिन, ‘गरीबीले च्यापेको थियो, कतै लगानी गरेर काम गर्ने हिम्मत थिएन, वनले दिएको १० हजारले मेरो जीवन फेरिएको छ ।’

उनले आफ्नै तीन कट्ठा जमीनमा बाख्राका लागि आवश्यक घाँस खेतीसमेत गरेकी थिइन । उनले भैँसी पनि पालेकी छिन । ‘अब मलाई आर्थिक समस्या छैन, भैँसीको दूध बेच्छु, वर्षमा चार वटासम्म खसी बेच्छु, घर खर्च राम्रै चलेको छ ।’

उनीजस्ता सामुदायिक वनको सहयोगमा कैलालीका उपभोक्ता बाख्रापालनमा लागेका छन् । सामुदायिक वनले उपभोक्तालाई आयआर्जन गराउन बाख्रापालनमा लगानी गर्न थालेका हुन् । सत्ती कर्णाली सामुदायिक वनले यस वर्ष ५० जनालाई बाख्रा खरीदका लागि प्रतिव्यक्ति १०-१० हजार उपलब्ध गराएको छ ।

गत वर्ष ३० जनालाई दिएको थियो । ३० जना सबैले बाख्रा पालेका छन् । ‘विपन्न उपभोक्तालाई आयआर्जनका कार्यमा लगाउने सामुदायिक वनको उद्देश्य हो’, अध्यक्ष धनसिंह साउँदले भनिन, ‘टोलटोलमा गएर टोल भेलाबाट विपन्न परिवार छनोट गरेर सहयोग गर्ने गरेका छौँ, धेरै परिवारले बाख्रा पालेर आम्दानी लिनुभएको छ ।’ 

वन समूहका सचिव मणिराम ढुङ्गानाका अनुसार उपभोक्ताले पालेका बाख्राको अनुगमन गर्न समिति पनि बनाइएको छ । उनले वन समूहले बाख्रापालक कृषकलाई तालीमलगायत प्राविधिक ज्ञान सामुदायिक वनले दिने गरेको बताइन ।

टीकापुर नपा–२ स्थित भुराखानी सामुदायिक वनले पनि बाख्रा पैँचो कार्यक्रम लागू गरेको छ । शुरुमा १० जनाबाट शुरु गरेको पैँचो कार्यक्रममा हाल ५० भन्दा बढी उपभोक्ता समेटिएका छन् । ‘हामीकहाँ बाख्रा नै दिने चलन छ, उपभोक्ताले बाख्राले पाएको पहिलो पाठो अर्को उपभोक्तालाई दिने गरेका छौँ’, वन समूहका अध्यक्ष श्याम खत्रीले भनिन, ‘यही कार्यक्रमले धेरै उपभोक्ता बाख्रापालनमा लागेका छन ।’ 

उपभोक्तालाई आवश्यक घाँस पनि सामुदायिक वनमै पाइन्छ । ‘कतिपय उपभोक्ताले बाख्रापालनलाई नै व्यवसाय बनाएकाे देख्दा खुशी लाग्छ’,  अध्यक्ष खत्रीले भने, ‘यो कार्यक्रम निरन्तर चलिरहन्छ, यसले उपभोक्तालाई फाइदा हुनाका साथै कृषिमा आबद्ध गराएको छ ।’

कैलाली जिल्लामा ५ सय २५ सामुदायिक वन छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ ‘फेकोफन’ कैलालीका निवर्तमान अध्यक्ष तुलसी देवकोटाले तीन सयभन्दा बढी सामुदायिक वनमा बाख्रा पैँचो कार्यक्रम सञ्चालनमा रहेको बताए । 

‘महासङ्घको योजनाअनुसार सामुदायिक वनसँग छलफल गरेपछि धेरै वनले यो कार्यक्रम लागू गरेका हुन्,’ उनले भने, ‘वन समूहको यो सबैभन्दा बढी प्रभावकारी कार्यक्रम हो ।’

प्रतिक्रिया दिनुहोस्