‘संविधानलाई रक्षा र विकास गर्ने कुरामा म दृढ छु’



काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले संविधानको रक्षार्थ अगाडि बढ्न खोज्दा घेराबन्दी भएको बताएका छन् । त्यस्तै, प्रतिनिधिसभा र यसको नेतृत्वमाथि अनेक खालका टिप्पणी भइरहेको भन्दै आफू जनताको अधिकतम हितमा लाग्ने उनको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्च र सर्वदलीय बैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई सभामुख सापकोटाले रोकेर असंवैधानिक काम गरेको भन्ने आरोप दोहोर्‍याइरहेको अवस्थामा सभाखुको यस्तो अभिव्यक्ति आएको हो । नेपाल पत्रकार महासंघको नयाँ कार्यसमितिको पदभार हस्तान्तरण कार्यक्रममा आइतबार सभामुख सापकोटाले भने, ‘हामीसामू निक्कै ठूलो चुनौती खडा भएको छ । संघीय संसद्लाई चलायमान बनाउने, संविधानको रक्षार्थ प्रतिनिधिसभा दृढतापूर्वक अगाडि बढ्न सुरु गर्‍यो, त्यहींबाट घेराबन्दी हुन थाल्यो । निकै ठूलो घेराबन्दी भइरहेको छ । अनेकखालका टिप्पणी भइरहेका छन् ।’

प्रतिनिधिसभालाई जीवन्त र जनमुखी बनाउन लागिरहेको अवस्थामा धेरै मान्छेलाई संसद्‌बारे भ्रममा पारिएको सभामुख सापकोटाको भनाइ थियो । ‘धेरै मान्छेलाई केही समय भ्रममा पार्न सकिन्छ । केही मान्छेलाई सधैंभरी भ्रममा पार्न सकिन्छ, सबै मान्छेलाई सधैंभरी भ्रममा पार्न सकिँदैन,’ उनले भने, ‘यो व्यक्ति-व्यक्ति बीचको, अधिकारीबीचको टक्कर हो कि भनेर टिप्पणी हुन्छ तर यो दृष्टिकोणको बीचमा टक्कर हो ।’ सभामुख सापकोटाले संविधान र लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्ने मामिलामा आफू सधैं दृढ भएर लाग्ने बताए । ‘नेपालको संविधानलाई रक्षा र विकास गर्ने कुरामा म दृढ छु । भन्नेले के भन्छन् मैले वास्ता गरेको छैन, म लुरुलुरु अगाडि बढेको छु । मैले जे गरेको छु देशलाई सम्झेर गरेको छु । देश र जनताको अधिकतम हितमा काम गरेको छु ।’ आफूले जानाजान देश र जनताको हितविपरीत काम नगरेको र आगामी दिनमा पनि त्यस्तो नगर्ने उनको भनाइ थियो । ‘मैले स्वतन्त्रतापूर्वक काम गर्नुपर्छ । कसैको दबाब, प्रभावबिना काम गर्नुपर्छ । मैले कसैको दबाबमा काम गरेको छैन । कसैको प्रभावमा काम गरेको छैन,’ सभामुख सापकोटाले थपे, ‘जनताका भावना बुझेर अगाडि बढ्नुपर्ने हुन्छ । निर्णय स्वच्छ हुनुपर्छ । जनताले हेर्दा स्वच्छ देखिनुपर्छ । कुनै कुनै निर्णयको बारेमा मात्रै स्पष्टीकरण दिनुपर्ने हुन्छ ।’

सभामुख सापकोटाले सभामुख पद तटस्थ रहोस् र तटस्थ निर्णय गरोस् भन्ने चाहना राख्नेभन्दा पनि आफ्नो पक्षमा काम गरोस् भन्नेहरू रहेको बताए । ‘तटस्थ होस् भनेर होइन कि मेरो पक्षमा काम गरोस् भन्ने छन्,’ उनले भने । ‘जतिबेरसम्म यो जिम्मेवारी सम्हाल्छु, देश र जनताप्रति पूरै इमानदारिताका साथ, निष्ठाका साथ काम गर्नेछु । मलाई देश र जनताको लागि काम गर्न कसैले रोक्न सक्ने छैन । रोकिने पनि छैन, पूरै दृढतापूर्वक काम गर्नेछु । कुनै कुराको त्याग गर्न र जोखिम लिन मलाई कठिन छैन,’ सभामुख सापकोटाले भने ।

प्रतिक्रिया दिनुहोस्