विद्यालयका लागि दाताले दिए ५० लाख सहयोग



बागलुङ : गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयले थालेको ‘जनहित शैक्षिक सहयोग (कोषवृद्धि)’ अभियानमार्फत रु ५० लाख सङ्कलन भएको छ । अभियानमा हालसम्म ३०० भन्दा बढी दाता जोडिएको विद्यालयले जनाएको छ । विद्यालयको शैक्षिक÷भौतिक सुधारका लागि आर्थिक स्थिति मजबुत बनाउन गत वर्षदेखि सहयोग अभियान चलाइएको थियो । देश विदेशमा रहेका विद्यालयका पूर्वविद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, समाजसेवी, शिक्षाप्रेमीलगायतले आर्थिक सहयोग गरेको अभियानका संयोजक राज थापाले बताए ।

संयोजक थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाले संयुक्तरुपमा रु आठ लाख प्रदान गरी अभियानको शुभारम्भ गरेका थिए । कोरोना भाइरस महामारीले गत वर्ष अभियान प्रभावित भए पनि स्थिति केही सहज भएपछि पुनः अभियान अगाडि बढाइएको थियो । “एक करोडको कोष बनाउने लक्ष्य छ, अभियान अर्को वर्षसम्म निरन्तर चल्छ”, संयोजक थापाले भने । विद्यालयले गत वर्षदेखि कक्षा ११ सञ्चालनमा ल्याएको थियो । कक्षा १२ सञ्चालन अनुमतिका लागि प्रक्रिया थालिएको छ । कक्षा ११ र १२ नियमित सञ्चालनका लागि आवश्यक पूर्वाधार तयारीका काममा समेत कोषबाट आउने ब्याज रकम खर्च गरिने भएको छ ।

कोषवृद्धि अभियानमा जोडिएर सहयोग गर्ने दातालाई नयाँ वर्षको अवसरमा विद्यालयले सम्मानसमेत गरेको थियो । रु ५० हजारभन्दा माथि सहयोग गर्ने २४ दातालाई नौमती बाजासहित ताम्दानीमा राखेर समारोहस्थलमा सयर गराइएको थियो । विद्यालयलाई सहयोग गरेका मनकारी दाता उक्त सम्मान पाएपछि खुशी देखिन्थे । आफूले गरेको सहयोग विद्यालयको स्तरवृद्धि र शैक्षिक सुधारका क्षेत्रमा खर्च होस् भन्ने चाहना दाताको छ । समुदायस्तरबाट विद्यालयको विकासका लागि स्वतःस्फूर्तरूपमा सहयोग जुटेकामा धेरैले अभियानको प्रशंसा गरेका थिए ।

बालबालिकालाई प्रविधिमैत्री गुणस्तरीय शिक्षाको अवसर दिलाउन विद्यालयले योजना बनाएर काम थालेको विद्यालयका प्रधानाध्यापक देवबहादुर खत्रीले बताए । प्रयोगशाला, विद्युतीय पुस्तकालय, शैक्षिक सामग्री, उपकरण, शिक्षण सिकाइ, क्षमता अभिववृद्धिलगायतका क्षेत्रमा कोषलाई परिचालन गरिने उनको भनाइ छ । हाल कक्षा ५ सम्म रहेको अङ्ग्रेजी माध्यमलाई कक्षा १० सम्म पु¥याउने विद्यालयको लक्ष्य छ । विसं २०२१ मा खुलेको विद्यालयले भौतिक सुधारतर्फ पनि विस्तारै फड्को मार्दैछ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा यही वर्ष चार कोठे भवन बनेको छ । जनश्रमदान र निजी स्रोतबाट गत वर्ष चार कोठे भवन बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्