मधेश आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिने निर्णय



काठमाडौं : नेपाल सरकारले तराई मधेश आन्दोलनका क्रममा आन्दोलनकारीउपर लगाइएका मुद्दाहरु फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकार र जनता समाजवादी पार्टीबीच विभिन्न चरणमा भएको वार्तापछि सरकारले मुद्दा फिर्ताको निर्णय गरेको हो । सरकार र जसपाले गठन गरेको कार्यदलले दिएको सूचीका आधारमा सरकारले मुद्दा फिर्ता लिएको हो ।

तराई मधेश आन्दोलनका क्रममा आन्दोलनकारीमाथि सरकारले दमन गरेको थियो । त्यस क्रममा मधेशवादी दलका नेता तथा कार्यकर्तामाथि विभिन्न आरोपमा झुठा मुद्दा लगाइएको र त्यसलाई सरकारले फिर्ता लिने निर्णय गरेको जसपाका नेता अनिलकुमार झाले बताए । ‘सरकारले मधेश आन्दोलनताका लगाइएका मुद्दा फिर्ता लिएको छ, यो सकारात्मक कदम हो’, झाले भने–‘लामो समयदेखि हामीले यो विषय उठाउँदै आएका थियौ, आज सम्बोधन भएको छ ।’ सरकारको यो निर्णयलाई जसपाले स्वागत दिदै धन्यवाद व्यक्त गरेको उनले बताए ।

सांसद रेशम चौधरीको रिहाइ लगायतका मागबारे पनि सरकारले यथोचित सम्बोधन गर्ने नेता झाले विश्वास व्यक्त गरे । उनले वार्ताको माध्यमबाट मधेशका मुद्दा सम्बोधन गराउन जसपा तत्पर रहेकोले त्यसका लागि सरकारलाई अग्रसर हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्