राष्ट्रपति भण्डारीले अन्त्य गरिन् संसदको हिउँदे अधिवेशन



काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषदको सोमबार बिहान बसेको बैठकले विधेयक अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजित प्रतिनिधिसभाको चालु अधिवेशन सोमबार दिउँसो १ बजेदेखि अन्त्य गरेकी हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ । गएको पुस ५ गते विघटित प्रतिनिधिसभालाई फागुन ११ गते सर्वोच्च अदालतले पुनःस्थापित गरेको थियो । सर्वोच्चको आदेश वमोजिम फागुन २३ गते संसद अधिवेशन सुरु भएको थियो ।
विधेयक अधिवेशन हुनुपर्ने भए पनि सत्ताको खिचातानी तथा सभामुखसँगको प्रधानमन्त्री केपी शर्मा ओलीको टकरावका कारण यो अधिवेशनमा कुनै पनि विधेयक पेश हुन सकेन ।
विधेयक अधिवेशन अन्त्य भए पनि चाँडै नै बजेट अधिवेशन सुरु हुनेछ । जेठ १५ गते आउँदो आर्थिक वर्षको बजेट पेश गर्नु पर्ने संवैधानिक व्यवस्थाका कारण बजेट अधिवेशन चाँडै सुरु हुनेछ ।
छलफल भएनः सभामुख
संसदको हिउँदे अधिवेशन अन्त्यबारे आफूसँग कुनै छलफल नभएको सभामुख अग्निप्रसाद सापकोटाले बताएका छन् । सभामुख सापकोटाले भने आफूसँग अधिवेशन अन्त्यबारे प्रधानमन्त्रीले कुनै पनि छलफल नगरेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्