माधव नेपालले अक्षम्य अपराध गरेः प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले कर्णालीमा बेइमानी गरेर अक्षम्य अपराध गरेको बताएका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
कर्णाली प्रदेशमा एमाले नेपाल–खनाल पक्षका चारजना सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पद जोगाइदिएका थिए । नेपाल–खनाल पक्षको उक्त कदमबाट ओली पक्ष आक्रोशित बनेको थियो ।
यस्तै बैठकमा प्रधानमन्त्री ओलीले भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयलसँगको भेटमा हुँदै नभएको कुरा गरेर प्रचण्डले बकवास गरेको समेत बताए ।
प्रचण्डले रअ प्रमुख सामन्त गोयलसँग हुँदै नभएको हल्ला चलाएको दाबी गर्दै ओलीले भने, ‘सामन्त गोयलसँग हुँदै नभएको कुरा भयो भनेर प्रचण्डले बकबास गरेका छन् ।’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यकाअनुसार प्रचण्डले हुँदै नभएको कुरालाई ‘ओलीले भारतीय खुफिया एजेन्सी रअका प्रमुखसँग सहमति गरेको’ भनी आफूलाई बदनाम गर्ने उद्देश्यले दुष्प्रचार गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्