केकीलाई कोरोना संक्रमण हुँदा असर ‘घिन्ताङलाई’



सोमबारदेखि छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘घिन्ताङ’को सेड्यूल प्रभावित भएको छ । चलचित्रकी नायिका केकी अधिकारीको कोरोना रिपोर्ट पोजिटिभ आएपछि छायांकन प्रभावित भएको हो ।

दिपक श्रेष्ठको निर्देशनमा तयार हुन लागेको चलचित्रको छायांकन सोमबारदेखि सुरु गर्ने निर्माणपक्षको योजना थियो । तर, केकीमा कोरोना संक्रमण देखिएसँगै छायांकन केही दिन पछि सारिएको हो ।

पहिलो पटक टेष्ट गर्दा कोरोना पोजिटिभ देखिएपछि केकीले विश्वास नलागेर दोश्रो पटक पनि टेष्ट गरेकी थिइन् । तर, दोश्रो पटक पनि कोरोना पोजिटिभको रिपोर्ट आएपछि केकी होम क्वारेन्टाइनमा छिन् ।

यसअघि पनि चलचित्रको छायांकन सुरु गर्ने तयारी भैरहँदा निर्देशक दीपक श्रेष्ठलाई कोरोना पोजिटिभ देखिएको थियो ।

चलचित्रको छायांकन पनौतीबाट सुरु गर्ने तयारीमा यसको निर्माणपक्ष थियो । केकीको रिपोर्ट नेगेटिभ आएसँगै छायांकन सुरु हुने निर्माणपक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्