प्रधानमन्त्रीले पूजा गरेपछि राम–सीताका मूर्ति चितवन पठाइयो



काठमाडौं । चितवनमा लगेर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई पूजाआजा गरिएको छ । मूर्तिलाई चितवन लैजानुअघि प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले प्रधानमन्त्री निवास बालुवाटारा पूजाआजा गरेका हुन् ।
उक्त मूर्तिलाई चितवनमा लगेर राख्ने तयारी ओलीको गत वर्षदेखि रहेको थियो । तयार परिएका मूर्ति रथ यात्रा मंगलबार नै चितवन पठाइने छ । मूर्ति राखिएका गाडीहरुलाई फूलमालाले सिँगारिएको छ ।
प्रधानमन्त्री ओलीले रामको जन्मभूमि चितवनको अयोध्या भएको दाबी गर्दै आएका छन् । ओलीले नै बनाउन लगाएको भनिएको राम, सीता, लक्षमण र हनुमानका मूर्ति रामनवमीको अवसर पारेर माडीको अयोध्याधाममा लगेर अनावरण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री निवासमा रथयात्रालाई विदाई गर्दा नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतको उपस्थिति थियो । राम, लक्ष्मण, सीता र हनुमानका प्रतिमा अलग अलग रथमा राखेर चितवन पठाइएको छ ।
प्रधानमन्त्री निवासबाट सो रथयात्रा राष्ट्रपति कार्यालय पुगेको थियो । राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोह बीच प्रतिमासहितको रथयात्रालाई विदाई गरेकी थिइन् ।
मूर्तिहरु लिएर गएको रथ मंगलबार चितवनको देवघाट रहने छ । बुधबार बिहान माडीको अयोध्यापुरी लगिनेछ । अयोध्यापुरीमा निर्माण गरिएको मन्दिरमा प्राणप्रतिष्ठा गरेर मूर्तिहरु राख्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्