रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारी निर्णय अवज्ञा गर्ने व्यवसायीको चेतावनी



काठमाडौँ । रात्रीकालीन व्यवसाय बन्द गर्ने सरकारले गरेको निर्णयमा व्यवसायीले विमति जनाएका छन् ।
काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गर्दै दोहोरी साँझ र रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समिति र त्यस मातहतका संघ सस्थाहरूले सरकारको निर्णयको अवज्ञा गर्ने घोषणा गरेका हुन् ।
उनीहरूले सरकारले अघिल्लो वर्ष पनि लामो समय लकडाउन र प्रतिबन्ध लगाउँदै आफूहरूको व्यवसाय चौपट बनाएको भन्दै अब पनि यसलाई बन्द गरेर आफूहरूसहित यस्ता व्यापार व्यवसायमा आवद्ध कर्मचारीसहित उनीहरूका आश्रित १५ लाख मानिसहरूलाई प्रभावित बनाउन खोजेको आरोप लगाएका छन् ।
व्यवसायीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सिट क्षमताका शर्तहरू पालन गर्ने तर व्यवसाय बन्द नगर्ने जनाएका छन् ।
कार्यक्रममा दोहोरी साँझ, रात्रिकालीन व्यवसाय, लाउञ्ज, रेष्टुरेन्टसहित कलाकारको समेत उपस्थिति रहेको थियो । उनीहरूले कोरोना कहरको बहानामा आफूहरूको व्यवसाय बन्द गरिए त्यसको प्रतिकार र विरोध गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्