बाँकेमा बिहीबारदेखि एक साता लकडाउन



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति(डीसीसीएमसी)ले लकडाउनका लागि सिफारिस गरेको छ । मंगलबार बसेको बैठकले बिहीबारदेखि एक साताका लागि लकडाउन गर्न सिफारिस गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक हप्ता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरेको बताए । ‘लकडाउनका लागि सिफारिस गरेका छौं,’ प्रजिअ गेलालले भने, ‘के कस्तो अवस्थामा र कहिलेसम्म भन्ने विषयमा छलफल गरिरहेका छौँ तर ९ गतेबाट लकडाउन हुन्छ ।’
डीसीसीएमसीको बैठकमा बाँके जिल्लाभरी नै लकडाउन गर्ने कि नेपालगन्ज उपमहानगरपालिकाभित्र मात्रै गर्ने भन्ने विषयमा मतभेद देखिएको छ । प्रमुख जिल्ला अधिकारी गेलालले केन्द्रसँगको समन्वयमा एरियाको टुंगो लाग्ने बताए । कुनै पनि ठाउँमा दुई सय बढी भन्दा संक्रमित भएमा स्थानीय प्रशासनले संक्रमणलाई रोक्न लकडाउन गर्न सक्छ ।
बाँकेमा मंगलबारसम्ममा ८ सय ६६ जना संक्रमित छन् । नेपालगन्ज उपमहानगरपालिकामा मात्रै ५ सयभन्दा बढी संक्रमित छन् । संक्रमितको केही दिनदेखि दैनिक नै मृत्यु भइरहेको छ ।
कोरोना संक्रमणको दर र त्यसबाट मृत्युदरसमेत उच्च भएपछि सरोकारवालाहरुले बाँकेमा लकडाउनका लागि दबाब दिएका थिए । सोमबार भेरी अस्पतालमा मात्र ३७५ जनाको परीक्षण गर्दा २१९ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्