काठमाडौंको सार्वजनिक यातायातमा नयाँ नियम लागु



काठमाडौं । देशमा नयाँ भेरियन्टसहितको कोभिड–१९ (कोरोनाभाइरस) महामारीको संक्रमण बढ्दै गएको भन्दै काठमाडौंमा सार्वजनिक यातायात सञ्चालनमा नयाँ नियम लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार बसेको बैठकले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेको निर्णय कार्यान्वयन प्रभावकारी ढंगले गर्ने निर्णय भएको हो ।
जसअनुसार सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।
यस्तै चालक तथा सहचालकले मास्क र भाइजर लगाउने, सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित गर्ने, यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा रु १० लिइ मास्क उपलब्ध गराइने उनले बताए ।
यस्तै लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी सुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरूको विवरण सीसीसीएमसीलाई उपलब्ध गराइने पनि पराजुलीले बताए ।
यातायात व्यवसायीसहितको सरोकार वालासहितको सो बैठकबाट मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनको सन्दर्भमा अनुगमन संयन्त्र गठन गरिएको छ ।
जसमा संयोजक यातायात व्यवस्था विभागको प्रतिनिधि रहनेछन् भने महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिकाको नगर प्रहरी, यातायात व्यवसायी, यातायात मजदुर संगठनको तर्फबाट पनि प्रतिनिधि रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्