स्थायी कमिटी बैठक: समर्थन फिर्ताबारे निर्णय भएन



काठमाडौँ । सरकारलाई समर्थन दिइरहेको नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभाको हिउँदे अधिवेशन सरकारले हठात् अन्त्य गराएर अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी कदम चालेको ठहर गरेको छ ।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभाको अधिवेशन प्रभावकारीमूलक बनाउनु पर्ने परिस्थितिमा अन्त्य गर्नु सरकारको स्वेच्छाचारी कदमको अभिव्यक्ति भएको निष्कर्ष निकाल्दै भत्र्सनासमेत गर्ने निर्णय गरेको हो ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रतिनिधिसभा बैठकको मिति र समय निश्चित भएको अवस्थामा आजको अवस्थामा संसद्को अधिवेशनलाई प्रभावकारीमूलक बनाउनु पर्ने परिस्थितिमा संसद् अधिवेशन हठात बन्द गर्ने काम गर्नु अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी कदमको अभिव्यक्ति हो । त्यो कदमको भत्र्सना पनि हामीले गरेका छौं ।’
बैठकमा सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल भएपनि निर्णय हुन सकेन । पार्टी प्रवक्ता श्रेष्ठले बैठकमा यस विषयमा छलफल भएपनि निर्णय नभएको बताए । उनले नयाँ सरकार गठनका लागि काँग्रेसलगायतका दलसँग छलफल भइसकेको र त्यसले छिट्टै निष्कर्षमा पुग्ने बताए ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो १ बजेदेखि लागू हुनेगरी प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेकी थिइन् । कोरोना भाइरसको दोस्रो लहर चलेको अवस्थामा सरकार गम्भीर नभएको भन्दै मंगलबारको बैठकले कार्यसूची तय र पार्टी पंक्तिलाई कोरोनाबारे जनचेताना फैलाउन र सहजीकरणका लागि परिचालन गर्ने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताए ।
त्यस्तै बैठकले केपी ओली नेतृत्वको सरकारले संविधान, कानुन, लोकतन्त्रलाई संकट पारिरहेको र जनादेश, सामाजिक आर्थिक रुपान्तरण, कम्युनिस्ट आन्दोलनविरुद्ध काम गरेको भन्दै बाह्य हस्तक्षेप आमन्त्रण गरिरहेकोले यो प्रतिगामी सरकारलाई हटाएर संविधान र लोकतन्त्र पक्षको सरकार बनाउने छलफल घनिभूत पार्ने पनि निष्कर्ष निकालिएको छ । थप एजेन्डामाथि भोलि बुधबार १ बजे बस्ने बैठकमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्