ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने नेपाल–खनाल पक्षीय सांसदहरुको निष्कर्ष



काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरण दिने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित २७ जना सांसदहरुलाई स्पष्टीकरण सोधेपछि नेपाल समूहका सांसदहरु मंगलबार आकस्मिक बैठकमा जुटेका थिए । बानेश्वरस्थित् अर्याल होटेलमा बसेको बैठकले ओलीले सोधेको स्पष्टीकरणको जवाफ समयसिमाभित्रै दिने र पार्टीभित्रै बसेर प्रतिवाद गर्ने निर्णय गरेको छ । बैठकमा नेताहरुले व्यक्तिगत रुपमा स्पष्टीकरण सोधेकाले सबै नेताहरुले समयसीमा भित्रै स्पष्टीकरण बुझाउने निश्कर्ष निकालेका हुन् ।
बैठकपछि बाहिरिने क्रममा पत्रकारहरुसँगको कुराकानीमा सांसद रामकुमारी झाँक्रीले आफूहरुले स्पष्टीकरणको जवाफ दिने जानकारी दिइन् । उनले सबै सांसदहरुलाई व्यक्तिगत रुपमा नै चिठ्ठी काटेर स्पष्टीकरण सोधिएकोले व्यक्तिगत रुपमा नै त्यसको जवाफ दिने पनि बताइन । उनले भनिन्, ‘हामी एकताका पक्षमा छौं । पार्टीभित्रै एमाले नै भएर अस्तित्वका लागि लडाइँ गर्छौं, केपी ओली पार्टी विधानविरूद्ध लाग्नुभयो । त्यसको विरोध गर्दा हामीलाई स्पष्टीकरण सोध्ने? हामी कानूनीरूपमा प्रतिवाद गर्छौं ।’ झाँक्रीले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको भन्दै स्पष्टीकरण दिने बताइन् । ‘हामी विभाजनका पक्षधर होइनौ । त्यसैले स्पष्टीकरण दिन्छौ’, झाँक्रीको भनाइ छ ।
‘पार्टी विभाजनको पक्षमा ओली आफै हुनुहुन्छ । जबजको सिरानी हालेर त्यही सिद्धान्त विरूद्ध खडा हुनुहुन्छ । सबै अधिकार आफूमा राखेर हिँड्नु खोज्नु भएको छ । त्यही सिलसिलाअन्तगत अहिले २७ जनालाई स्पष्टीकरण सोध्नुभएको हो’, झाँक्रीले भनिन्, ‘पार्टीभित्र संघर्ष पनि जारी राख्छौँ । पार्टी र सिद्धान्तका लागि लड्छौं । भुईँमा लडेपनि धुलो टकटक्याएर लड्छौँ ।’
अध्यक्ष ओलीले मंगलबार माधव पक्षका संघका २७ र प्रदेशका ५ गरी ३२ सांसदलाई दुई दिनभित्र स्पष्टिकरण दिन भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्