कर्मचारीलाई संक्रमण भएपछि ६ दिनका लागि कुस्मा नगरपालिका बन्द



पर्वत । एक जना कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि पर्वतको कुस्मा नगरपालिकाको कार्यालयका कामकाजहरू बन्द गरिएका छन् । वैशाख ९ गते बिहीबारदेखि बन्द रहेको कार्यालय वैशाख १५ गतेसम्म बन्द हुने भएको हो ।

ती कर्मचारीको एन्टीजिन परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएपछि कार्यालयबाट सम्पादन हुने स्वास्थ्य सेवा, फोहोर मैला व्यवस्थापन, दमकल लगायतका अत्यावश्यक सेवाहरू बाहेकका अन्य सबै सेवाहरू बन्द गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीले बताए ।

‘कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ । अरू कर्मचारीहरूमा पनि रुघाखोकी देखिएको छ । रुघाखोकी सिजनल पनि हुन सक्ला तर शङ्का भने भएको तिवारीले बताए ।

नगरपालिकाको कार्यालयमा दैनिक जसो सयौँको संख्यामा सेवाग्राहीहरू आउने तथा उनीहरू सहित उनीहरूको माध्यमबाट अन्य ठाउँमा संक्रमण फैलन सक्ने जोखिमका कारण सेवा बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्