दुई हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
८ हजार ८४४ पीसीआर परीक्षणका क्रममा २२ सय २० जनामा संक्रमण पुष्टि भएको छ भने ८०३ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार बुधबार देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ । बुधबार १८० जनाको आईसीयूमा उपचार भइरहेकोमा ४८ जना भेन्टिलेटरमा रहेका डा. गौतमले जानकारी दिए । यस्तै, कोरोना संक्रमणमुक्त भएर २८७ जना डिस्चार्ज भएका छन्।
उपत्यकामा काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ गरी १०५१ जना संक्रमित थपिएका डा. गौतमले बताए ।
‘घर बाहिर ननिस्कनू’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता गौतमले हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताए ।
मन्त्रालयले बुधबार आयोजना गरेको कोरोनाको प्रेस ब्रिफिङमा बोल्दै सभा, भेला, गोष्ठी , सेमिनार, जात्रा, बैठक नगर्न अनुरोध गरे । ‘कोरोना संक्रमण काठमाडौं लगायत ठूला सहरमा दिनदिनै बढ्दैछ,’ डा गौतमले भने, ‘थाहा पाइपाइ भीडभाडमा जानु हुँदैन ।’
उनले विवाह, व्रतबन्ध, पूजा, भोज भतेर, समारोह गरी भीड जम्मा गर्ने, भीडमा सरिक हुने र मास्क नलगाइ हेलचेक्रयाइँ तथा असावधानीले संक्रमण थप फैलिँदै गइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्