त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपाल



काठमाडौँ । नेपाल त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको फाइनलमा प्रवेश गरेको छ ।
सिरिज अन्तर्गत बुधबार नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी भएपछि नेपाल फाइनल पुगेको हो । नेपाल एक खेल अगाबै फाइनल पुगेको हो ।
नेपालसँगै नेदरल्यान्ड्स पनि फाइनल पुगेको छ । मलेसिया भने बाहिरिएको छ । त्यसअघि टियु क्रिकेट मैदानमा बुधबार वर्षाले प्रभावित भएपछि खेल बराबरी भएको हो ।
वर्षाले पटक–पटक प्रभावित गरेको खेलमा नेदरल्यान्ड्सले जितका लागि १३ ओभरमा १ सय २० रनको लक्ष्य दिएको थियो । तर, मलेसियाले जवाफी ब्याटिङ गरिरहँदा वर्षाले पुनः खेल रोकेको थियो । त्यसपछि पुनः सुरु भएको खेलमा मलेसियाले डीएलको आधारमा १० ओभरमा ९२ रनको नयाँ लक्ष्य पाएको थियो ।
नेदरल्यान्ड्सले दिएको ९२ रनको लक्ष्य मलेसियाले १० ओभर ४ विकेट गुमाएर ९१ रन बनाएपछि खेल टाइ भएको हो । मलेसियाका सेद अजिजले सर्वाधिक ३० रन जोड्दा अनवर अरुदीनले २३ रन बनाए ।
नेदरल्यान्ड्सका सेबास्टियन ब्राटले २ विकेट लिए । यस अघि वर्षाको कारण १३ ओभरमा झारिएको खेलमा नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।
तर, डीएल पद्दतिको आधारमा मलेसियाले १ सय २० रनको लक्ष्य लक्ष्य पाएको थियो । नेदरल्यान्ड्सका लागि बेन कुपरले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।
मलेसियाका मुहमद वाफिकले २ विकेट लिए । पवनदिप सिंह र भीरनदीप सिंहले १–१ विकेट लिए । प्रतियोगिता अन्तर्गत बिहीबार नेपाल र मलेसियाबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्