प्रदेश २ र बागमती प्रदेशका प्रमुखद्वारा सप्तरीको शक्तिपीठमा पूजाअर्चना



काठमाडौँ प्रदेश २ प्रमुख डा राजेश झा अहिराज र वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाईले चैते दशैँको अवसरमा सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता र कंकालनी मन्दिरमा पूजाअर्चना गरेका छन् ।
प्रदेश प्रमुखद्वय अहिराज र प्रसाईले भारदहस्थित कंकालनी मन्दिरमा पूजाअर्चना पछि छिन्नमस्ता पुगेर त्यहाँ रहेको छिन्नमस्ता भगवतीको पूजाअर्चना गरे ।
छिन्नमस्ता मन्दिरमा दुबै प्रदेश प्रमुखहरुलाई मन्दिरका पीठाधीश महाकान्त ठाकुर, जसपाका केन्द्रीय सदस्य जय प्रकाश ठाकुर, महिला अधिकारकर्मी सुनिता साह लगायतले स्वागत गरेका थिए ।
प्रदेश २ प्रमखु अहिराजसँग पीठाधीश ठाकुरले छिन्नमस्तामा वेद विद्या आश्रम निर्माणका लागि सहयोग गर्न आग्रह गरे । प्रदेश प्रमुख अहिराजले छिन्नमस्ता शक्तिपीठको संरक्षणका साथै वेद विद्या आश्रम निर्माणका सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यसैबीच प्रदेश २ का प्रदेश प्रमुख अहिराज जनकपुरस्थित जानकी मन्दिर र चतराधामको माटो तथा गंगासागर र कोशीको जल लिएर चितवनको माडी पुगेका छन् ।
चितवनको माडीस्थित अयोध्यापुरीमा बुधबार सीतारामको मूर्ति प्रतिस्थापन गरिएको छ । प्रधानमन्त्रीको अग्रसरतामा अयोध्यामा स्थापना गरिएको सीताराम मन्दिरले धार्मिक पर्यटन, सामुदायिक सद्भाव, ऐतिहासिक अवसर र राम जन्मभूमिको महत्वलाई थप बल पुग्ने प्रदेश प्रमुख अहिराजको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्