काठमाडौं महानगरका मेयरलाई बृहत् नागरिक आन्दोलनको खुला पत्र



काठमाडौँ । बृहत् नागरिक आन्दोलनले काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई खुला पत्र लेख्दै टुँडिखेल (तिनि ख्यः) बाट सेना हटाएर समुदायकै जिम्मा लगाउन अपिल गरेको छ । लोकतन्त्र दिवसका अवसरमा बृहत् नागरिक आन्दोलनले काठमाडौंका मेयरलाई खुला पत्र लेख्दै तिनि ख्यःमा सेनाको घेराबारा हटाएर नागरिकले निस्फिक्री टहल्ने र सास फेर्ने हक सुनिश्चित गर्न आग्रह गरेको छ ।
रानीपोखरीदेखि रंगशालासम्म, भृकुटीमण्डपदेखि माइतीघरसम्म पूरै तिनि ख्यः कायम गरिनुपर्ने पनि अपिलमा लेखिएको छ । ‘लोकतन्त्र दिवस अवसरमा नागरिक आन्दोलन महानगर प्रमुखलाई अपिल गर्दछ, तिनि ख्यःमा सेनाको घेराबारा हटाएर नागरिकले निस्फिक्री टहल्ने र सास फेर्ने हक सुनिश्चित गर्नुपर्दछ । रानीपोखरीदेखि रंगशालासम्म, भृकुटीमण्डपदेखि माइतीघरसम्म पूरै तिनि ख्यः कायम गरिनुपर्दछ । लोकतन्त्र बलियो बनाउन समुदायको सम्पदा समुदायकै जिम्मा फर्काउनुपर्दछ,’ अपिलमा लेखिएको छ ।
यस्तो छ अपिल
जनताको तिनि ख्यः, जनताको लोकतन्त्र
प्रमुख,
काठमाडौं महानगरपालिका
बागदरबार, काठमाडौं
काठमाडौं हरियो होस्, भरिलो बनोस्, यो कसले चाहँदैन होला ? सदियौंसम्म प्राकृतिक जलाधार र जल संशोधन÷प्रशोधनका रूपमा उपत्यकाको नाभीमा रहेको विशाल सार्वजनिक वन समयक्रममा शासकहरूको शान प्रदर्शन गर्ने सीमा बनाउन थालियो र जनताको पहुँच विच्छेद गरी साँध लगाइयो ।
नेवाः समुदायको तिनि ख्यः (तिं ख्यः), पुरानो नाम ‘तेन्दोख्यल’बाट विकसित सार्वजनिक स्थान । सांस्कृतिक सम्पदा, समुदायको एउटा आस्था केन्द्र गुरुमापा (काल्पनिक लाखय्)को बासस्थान, देवाली पूजाको स्थल, मूर्त–अमूर्त संस्कृतिको केन्द्र ।
अरुका लागि टुँडिखेल । सेनाले आफ्नो मौजा ठान्छ, सरकारले वार्षिक कर्मकाण्ड गर्ने थलो । पहिले त्यस्तो थिएन, अब कहिल्यै त्यस्तो हुन दिनु हुँदैन ।
रुखविरुवा हुर्काए नागरिकले सास फेर्न पाउनेछन्, सहरलाई पुग्ने आकाशे पानी जमिनमा सिञ्चन हुनेछ÷सञ्चित हुनेछ÷पुनर्भरण हुनेछ । सिंगो सहरको रसिलो शोभा बन्नेछ । यसले बन्दुकको राइँदाइँ होइन, हराभरा रनवन खोजेको छ ।
लोकतन्त्र दिवस अवसरमा नागरिक आन्दोलन महानगर प्रमुखलाई अपिल गर्दछ, तिनि ख्यःमा सेनाको घेराबारा हटाएर नागरिकले निस्फिक्री टहल्ने र सास फेर्ने हक सुनिश्चित गर्नुपर्दछ । रानीपोखरीदेखि रंगशालासम्म, भृकुटीमण्डपदेखि माइतीघरसम्म पूरै तिनि ख्यः कायम गरिनुपर्दछ । लोकतन्त्र बलियो बनाउन समुदायको सम्पदा समुदायकै जिम्मा फर्काउनुपर्दछ ।
खुला ठाउँ, चौर र वनबाटिका मौलाउन नसकेको सहरमा लोकतन्त्र फस्टाउन सक्दैन । जनसाधारणको सम्मान गर्न नसक्ने सहरले आमवृत्त बलियो बनाउँदैन । अभिव्यक्ति स्वतन्त्रताका लागि आमवृत्त जति महत्वपूर्ण हुन्छ, सहज पहुँच भएको खुला ठाउँ नगरबासीको समग्र विकासका लागि उति नै जरुरी छ । स्वस्थ हावामा सास फेर्नु, अन्तरसंवाद चलाउनु, सार्वजनिक क्रियाकलाप गर्नु, चाडबाड मनाउनु, खेलकुद गर्नु, कलाकारिता प्रदर्शन गर्नु, राजनीतिक अन्तरक्रिया गर्नु, विपदमा भेला हुनु, आमसभा र भेला गर्नु सर्वसाधारणका अधिकार हुन् । संविधानप्रदत्त अधिकार ।
सामुदायिक सम्पदा नष्ट गर्ने, खुला ठाउँलाई शासकीय र व्यापारिक लेनदेनको माध्यम बनाउने व्यक्ति÷शक्तिलाई लोकतन्त्रमा कुनै स्थान हुनुहुँदैन । जनप्रतिनिधिले यो आधारभूत सत्य भुल्ने होइन, यसलाई साकार गर्न सक्नुपर्दछ । नगरलाई स्वस्थ, सुन्दर र गुणस्तरीय जीवन अनुकूल राख्ने कबोलसहित काम गर्न सक्नुपर्दछ । ठूला पक्की भवन, कालोपत्रे सडकका जालो, व्यापारिक अड्डा र कंक्रिटका स्मारकले नगर समृद्ध बन्ने होइन । नगरबासीको जीवन्त उपस्थिति, समानता र सह–अस्तित्वमा आधारित सामुदायिक अन्तक्रिया, सांस्कृतिक रौनक, सम्पदा संवद्र्धन र सबैको सहज पहुँच भएका खुला ठाउँ, वनबाटिकाले मात्र नगर सुन्दर बनाउँछ ।
प्रकृति र सम्पदा÷संस्कृतिले यतिविघ्न साथ दिँदा समेत काठमाडौँलाई जीवन्त लोकतान्त्रिक सहर दरिन नदिनु जनप्रतिनिधिको कर्तव्यबाट पन्छिनु हो । संसारको प्रदूषितमध्ये एक नगर, आमनागरिकको सम्रग विकासका लागि अपरिहार्य खुला ठाउँ नभएको फोहोर र अस्वस्थ सहरको महानगर प्रमुख हुनु गर्व होइन, हीनताको विषय हो । तसर्थ, काठमाडौंलाई सभ्य र स्वस्थ लोकतान्त्रिक सहरको पहिचानको निम्ति तिनि ख्यःसहित सार्वजनिक सम्पति÷सम्पदा÷सभ्यताको सुरक्षा गर्नुहोस्, नागरिक हक, सक्रियता र सकारात्मकता रक्षा गर्नुहोस् ।
आज वैशाख ११ गते, दोस्रो जनआन्दोलन सफल भएको दिन । लोकतन्त्र पुनर्बहाली भएको सुखद् क्षण । दोस्रो जनआन्दोलनले नागरिक सर्वोच्चतालाई नयाँ उचाइ दिएको थियो । संघर्षशील जनताले लोकतान्त्रिक आकांक्षाको जगमा स्वतन्त्र, समता र न्यायमूलक समाजको आकांक्षा राखेका थिए । त्यसका लागि लोकतान्त्रिक राज्यको अपेक्षा गरेका थिए ।
नागरिक आन्दोलन आह्वान गर्दछ, हजारौंको बलिदानीबाट हासिल लोकतन्त्रको सम्मानमा लोकको बृहत् स्वार्थ निम्ति काठमाडौं महानगरपालिकाले तिनि ख्यःमा समुदाय र नागरिकको अधिकार स्थापित गर्न तत्काल अग्रसरता लेओस्, सांकेतिक रूपमै किन नहोस् ! र, लोकतन्त्रमा कम्तीमा पनि सार्वजनिक स्थलमाथि नागरिक स्वामित्व स्थापित हुन सम्भव छ भन्ने यथार्थ प्रदर्शित गरोस् ।
संघीय सरकार, प्रदेश सरकार र अन्य स्थानीय सरकारले पनि मनन् गरुन्, धेरै खुला ठाउँमा समुदाय र नागरिकको स्वामित्व स्थापित गर्नु छ । उनीहरूले आत्मसात् गर्नुपर्ने छ– सामुदायिक स्रोतलाई आफ्नो बपौतीजस्तै व्यवहार गर्ने अधिकार कसैसँग छैन । राज्य र बजारबाट यस्तो भोगचलन बेरोकतोक हुनु अर्को विभेद–चक्र हो र त्यो अन्ततः हाम्रो लोकतन्त्रप्रति अनास्था हो, समुदाय र नागरिकका अधिकारप्रति बेवास्ता हो ।
लोकतन्त्र दिवसको अवसरमा नागरिक आन्दोलन समग्र नागरिकगणमा समेत अपिल गर्दछ, खुला स्थानमा नागरिक पहुँच कायम गर्न, नागरिक आत्मसम्मान र स्वामित्व रक्षा गर्न, आउनोस् हामी नागरिक आवाज बुलन्द गरौँ ।
लोकतन्त्र बलियो बनाउन लोक चेतना र लोक जागरणलाई सशक्त बनाऔं ।
बृहत् नागरिक आन्दोलन
११ वैशाख २०७८ ।

प्रतिक्रिया दिनुहोस्