गण्डकीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव निर्णयार्थ पेस



पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव आज संसदमा निर्णयार्थ पेस हुने भएको छ । वैशाख २ मा प्रदेशका मुख्यमन्त्रीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका दुई गरी २८ जना सांसदले संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

वैशाख १३ देखि सुरु विशेष अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव टेबुल भएको थियो । सोमबारको बैठकमा सांसदहरूले अविश्वासको प्रस्तावबारे आफ्नो भनाइ राखेका थिए । मंगलबारसमेत २५ जना सांसदले आफ्नो भनाइ राख्ने कार्यसूची रहे पनि सत्तापक्षका सांसदले कोरोना परीक्षणको माग गर्दै बैठक अवरुद्ध गरेका थिए । सांसदहरूले धारणा राख्ने क्रम नसकिएकाले बुधबारको बैठकमा अविश्वासको प्रस्तावबारे बोल्न चाहने सांसदहरूले आफ्ना भनाइ राखिरहेका छन् ।

सांसदहरूको भनाइ राख्ने क्रम सकिएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अविश्वासको प्रस्तावबारे सांसदले उठाएका प्रश्नले जवाफ दिने कार्यसूची रहेको छ । मुख्यमन्त्रीले जवाफ दिएपछि अविश्वासको प्रस्ताव निर्णायार्थ बैठकमा पेस हुने संसद् सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए । कुनै चमत्कार नभए अविश्वासको प्रस्ताव पारित हुनेछ । कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई गरी ३१ जनाले प्रस्तावका पक्षमा मतदान गर्नेछन् । एक स्वतन्त्र सांसदले समेत अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने सम्भावना रहेको छ । कुल ६० सदस्य प्रदेश सभामा अविश्वासको प्रस्ताव पारित गर्न ३१ सांसद आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्