बुटवल कोरोना अस्पतालमा तीन संक्रमितको मृत्यु



बुटवल : रुपन्देहीका थप तीन जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । बुटवलका दुई पुरुष र मायादेवी गाउँपालिकाकी एक महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो ।

बुटवल–११ का ३१ वर्षीय पुरुषको बिहान २ः३० बजे, बुटवल–१४ का ६६ वर्षीय पुरुषको बिहान २ः४५ बजे र मायादेवीकी ७२ वर्षीया महिलाको बिहान ३ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । बुटवल–११ का पुरुषमा वैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएपछि र सोही दिन अस्पताल भर्ना गरिएको थियो । बुटवल–१४ का पुरुषमा वैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी पनि सोही दिन अस्पताल भर्ना भएका थिए । यसैगरी मायादेवीकी महिलामा वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएकामा ११ गते अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १८४ पुगेको छ । जिल्लामा दुई हजार २१२ जना सक्रिय संक्रमित छन् । बुधबार मात्रै रुपन्देहीमा ३८० जना नयाँ संक्रमित थपिएका थिए । ५५६ जनाको पीसीआर परीक्षण गर्दा ३८० जनामा कोरोना पोजेटिभ देखिएको हो । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालको आइसियूमा हाल १२ जना संक्रमित उपचाररत रहेका डा। गौतमले जानकारी दिए । रुपन्देहीमा हालसम्म ११ हजार ६११ जना संक्रमित भएकोमा नौ हजार २१८ जना निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्