कोरोना नियन्त्रणप्रति प्रजिअ र एसपीलाई छैन चासो, विवाहमा सय जनासम्म सहभागी



जनकपुरधाम– कोरोना भाइरसको दोस्रो लहर तिब्र रुपमा फैलिरहेको छ । कोरोनाको चेन बेक्र गर्न गर्न नसकिने हो कि भनेर स्वास्थ्य मन्त्रालय र अन्य सम्बन्धित निकायहरू नै अत्तालिएको अवस्था छ । चिकित्सक, स्वास्थ्यकर्मी, अस्पलातमा बेड, आईसीयू, भेन्टिलेटरको अभाव दिन प्रतिदिन बढ्दो छ ।

स्वास्थ्य मन्त्रालय निरीह बन्दै गइरहेको छ । शुक्रबार विज्ञप्ती जारी गर्दै जिल्लामा कोरोना भाइरस संक्रमण डरलाग्दो गरी फैलिएको भन्दै मुलुकको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने र अब थपिने बिरामीलाई अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने मन्त्रालयले भनिसकेको छ । यसबाट अब संक्रमितको संख्या र मृतकको संख्यमा अझ वृद्धि हुनेवाला छ भन्ने कुराको सहजै अनुमान लगाउन सकिन्छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लासहित मोरङ, सुनसरी, झापा, पर्सा, बारा, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली कञ्चनपुरमा संक्रमण दर डरलाग्दो गरी बढिरहेको छ । यसैगरी, कोरोनाको संक्रमण तिब्र रुपमा फैलिएको अर्को जिल्ला हो, धनुषा । कारण : मुख्य जिम्मेवार निकाय नै गैरजिम्मेवार बनेका छन् ।

कोरोना रोकथाम र नियन्त्रणको लागि स्थानीय तहले उचित निर्णय लिन सक्छन् । यसअर्थ लकडाउन गर्ने, पूर्ण वा आंशिक रुपमा निषेधाज्ञा जारी गर्ने अथवा अन्य केही विकल्पमा जाने यसको सम्पूर्ण जिम्मेवारी र अधिकार स्थानीय सरकारलाई छ । तर धनुषाका जिल्ला प्रमुख अधिकारी भने कोरोनाको चेन ब्रेकका लागि भन्दा संक्रमणलाई थप बढवा दिनतिर लागेका देखिन्छन् । भारतको खुल्ला सीमामा भएका कारण पनि धनुषा उच्च जोखिमयुक्त र अति प्रभावित जिल्लाको सूचीमा परेको हो ।

नाकामा कडाई गर्न, २५ जना भन्दा बढी भेला नहुन, होटल तथा रेष्टुरेन्ट राति ८ बजेसम्म मात्र खोल्न केन्द्र सरकारबाट निर्देशन जारी भएको छ । तर यी निर्देशन पालना गराउन धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला खासै जिम्मेवार बनेका छैनन् । जनकपुरधाम उपमहानगरपालिकामा राति ८ बजे पछि पनि होटल तथा रेष्टुरेन्टहरु खुल्लमखुल्ला सञ्चालन भइरहेका छन् ।

राति ८ बजेपछि पनि आफूहरुले व्यवसाय सञ्चालन गरेबापत् महिनाको २ हजार रुपैयाँका दरले प्रहरी चौकीलाई बुझाउने गरेको व्यवसायीहरु बताउँछन् । जनकपुरधामको जानकी चौकी र रेलवेस्टेशन चौकी, जिरोमाइल चौकी, कपलेश्वर चौकी र फुलगमा चौकीलाई आफूहरुले पैसा दिएर निर्वाध रुपमा व्यवसाय सञ्चालन गरेको उनीहरुको भनाइ छ ।

राति एक बजेसम्म त्यहाँको होटल तथा रेष्टुरेन्टहरु खुलै रहने गरेका पाइएको छ । यसबारे जिल्ला प्रहरी कार्यलयका एसपी प्रकाश रानाभाट बेखबर छन् । त्यस्तै सरकारले सर्वजनिक स्थलमा भिडभाड नगर्न पनि भनेको छ भने २५ जना भन्दा धैरै विवाहमा सहभागी नगराउन पनि भनेको छ ।

तर धनुषामा एकसय जना भन्दा बढी विवाहमा सहभागी भएको एक स्थानीय बताउँछन् । अझ कतिपयले त मास्कसमेत लगाएका देखिँदैनन् ।उनी भन्छन्, ‘एकसय भन्दा बढी बाजा र डिजेसहित विवाहमा जान्छन् ।’ यसलाई रोक्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले कुनै पनि कदम नउठाएको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्